सङ्गसङ्गै विनोद चौधरी र डा.आरजू सिंगापुर
विवादास्पद व्यापारी विनोद चौधरी र नेपाली काँग्रेस नेतृ डा. आरजू राणा देउवा सिंगापुर गएका छन् । उनीहरु गएराति पौने १ बजे काठमाडौंबाट त्यता लागेका हुन् ।
नेपाली काँग्रेसको सांसदसमेत रहेका चौधरी र राणाले सिंगापुर एअरलाइन्सको उडान पक्रेको तर चौधरीको अन्तिम गन्तव्य भने खुलाइएको छैन । काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी राणा त्यहाँबाट जापान जाने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।
यसवीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमेत सोही उडानबाट सिंगापुर हुँदै फिलिपिन्सको राजधानी मनिला गएको बैंकले जनाएको छ । उनी आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।
मनिलामा हुन लागेको आफि ग्लोबल पोलिसी फोरममा सहभागी हुन हिजो दिउँसो बैंकका १० जना वरिष्ठ अधिकृत त्यसतर्फ गएका थिए । गभर्नर अधिकारी पनि सोही कार्यक्रममा सहभागी हुन गएका हुन् ।
हिजो दिउँसो काठमाडौंबाट बैंकका पाँच जना कार्यकारी निर्देशक र पाँच जना निर्देशक मनिला गएको बुझिएको छ । एउटा कार्यक्रममा सहभागिता जनाउन केन्द्रीय बैंकबाट दर्जन अधिकृतहरु जानुको औचित्य भने पुष्टि भैसकेको छैन ।
गत महिना क्यानाडामा सम्पन्न एपिजी अन मनि लण्डरिङ कार्यक्रममा नेपालबाट दुई दर्जन बढी र बैंकबाट झण्डै एक दर्जन कर्मचारी सहभागी भएका थिए ।
टिप्पणीहरू