त्यो फोन र त्यसपछिको तनाव
प्रधानमन्त्रीले विश्वास गरेको वकिल महान्यायाधिवक्ता हुने चलनै हो । तर, एकपछि अर्को गर्दै युवाहरुलाई त्यही भर्याङमार्फत सर्वोच्चमा छिराएर भावी प्रधानन्यायाधीशको लाइनमा उभ्याउने खेती मौलाएको छ ।
अहिलेका महान्यायाधिवक्ता डा.दिनमणि पोखरेललाई कांग्रेस सभापति शेरबहादुर देउवाकै सामु प्रमले अमेरिका र चीन जानुअघि न्यायपरिषद् बैठक चल्दाचल्दै फोन गरेर सर्वाेच्चमा लाने निर्णय गराउन चाहनुभएको थियो । त्यसमाथि न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठसमेत दिनमणिबाहेक अरुको नाम आएमा सही नै नगर्ने भन्दै कात्तिक ११ गतेसम्मका लागि असोज पहिलो हप्ता अमेरिकातिर हान्निएका छन् । कांग्रेसी कोटा भन्दै शेखर कोइरालाले बारका पूर्व महासचिव सुनिल पोखरेल र देउवाले विजय मिश्रलाई च्यापेको स्थिति छ । माओवादीबाट डिएन पराजुलीको दाबी यथावत् छ भने पदम वैदिक पनि कुदाकुदमै छन् । शालिकराम सापकोटासमेत लाइन लागेर बसेका छन् ।
अर्कातिर, सर्वोच्चमा न्यायाधीशहरु घर जाने अर्को क्रम शुरु भएको छ । अनिलकुमार सिन्हाले मुद्दा हेर्न छाडिसकेका छन् । ईश्वरप्रसाद खतिवडा पनि मंसिरसम्ममा जानेछन् । उनी गएपछि दिनमणीलाई ल्याउने कि भन्ने पनि छ । यसपछि आनन्दमोहन भट्टराई जेठमा जाँदैछन् । दिनमणि सर्वोच्च गएमा महान्यायाधिवक्ता बन्न रमणकुमार श्रेष्ठ, मुक्ति प्रधान र तुलसी भट्टको दौडधुप शुरु हुने बताइन्छ ।
चोलेन्द्रसमशेरको पालामा एकपटक उपत्यका बसिसकेकालाई दोहोर्याएर नदिने नीति थियो । अहिलेचाहिँ त्यो फेरिएको छ । उदाहरण हुन् शिशिर ढकाल र राजन भट्टराई ।महान्यायाधिवक्तालाई जस्तै मुख्यरजिष्ट्रारलाई पनि न्यायाधीश बनाएर सर्वोच्च छिराउने धन्दा शुरु भएकै थियो । प्रधानन्यायाधीशले आफूले चाहेको कर्मचारीलाई तानतुन पारेर अनि प्रधानमन्त्रीले आफूनिकट वकिलबाट सर्वोच्चमा लैजाने । देशमा पदको दुरुपयोग यसरी भइरहेको छ । फलतः क्याडर जजहरु मर्कामा परेको गुनासो पोख्दैछन् ।
फैसला विशेषमा आधारित भएर न्यायाधीशमाथि व्यवहार हुन थाल्दा न्यायालयमा झन् असन्तुष्टि बढ्दो छ । नक्कली भुटानी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाँण र टोपबहादुर रायमाझीहरुलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिने काठमाडौंका जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपाने एक वर्ष नपुगी रुकुम धपाइए । अनि, हालका कानुनमन्त्री धनराज गुरुङको क्षेत्र स्याङ्जा– २ मा बहुचर्चित ‘पितृले भोट हालेको’ कामलाई सदर गर्ने भनिएका सरकारी वकिल रामचन्द्र शर्मालाई न्यायाधीश बनाएर घरपायक हुने गरी पोखरा पोस्टिङ गरिएको छ । त्यस्तै, काठमाडौंबाटै दयाराम ढकाललाई पनि एक वर्षमै डडेलधुरा पुर्याइँदा प्रकाश ढुंगानालाई नवलपरासीबाट अछाम लखेटिएको छ । सामान्यतया न्यायाधीशले एक जिल्लामा दुई वर्ष काम गर्न पाउने प्रचलन छ ।
पछिल्लो पटक स्याङ्जाको क्षेत्र नं. २ मा धाँधली भयो भनी एमालेकी उम्मेदवार पद्मा अर्याललगायतले उजुरी हालेकोमा छानबिन गर्दा एमालेले चार–पाँच र कांग्रेसले आठ–नौ ठाउँमा प्रेमपूर्वक भोट हालेको भेटियो । निर्वाचन सकिएलगत्तै कहाँ, कति मतदान भयो भनी रिपोर्टिङ लिने काम हुन्छ । जहाँ जसको मत बढी हुन्छ, त्यहाँ अर्कोले धाँधली भयो भन्ने त सनातन धर्म नै हो । निर्वाचन आयोगले चाहिँ सोही दिन तत्काल केही भयो भने घटनास्थलमै मान्छे पठाउने र त्यहीँ छिनोफानो गर्ने आन्तरिक सहमति बनाएको थियो । त्यसमध्ये गुल्मीको समस्यामा पर्सिपल्ट पुनः मतदान गराउने प्रतिवेदन आयो ।
पूर्वी नवलपरासीमा पनि ठाउँका ठाउँ पुनः निर्वाचन गराउने सहमति बन्यो । बाजुराको एक ठाउँमा त्यस्तै भयो । दोलखामा चार ठाउँमा समस्या देखिएपछि काठमाडौंबाट टोली पठाउनुपर्ने भयो । त्यहाँ मतपत्रको मुठा मुठा नै समातेर फ्याँकेको भेटियो । चार ठाउँ भनिए पनि सातै ठाउँमा पुनः मतदान भयो । स्याङ्जामा दिउँसो ४ बजे हाम्रा मान्छे लखेटिए भनेर पद्मा पक्षले दावी गरेको थियो । तर आयोगको टोली जाँदा त्यहाँ बिहान एमालेको प्रतिनिधिले ठीक भनेर सही गरेको छ । बेलुकी पनि त्यस्तै कागजमा सही गरेको छ । अनि, पछि एमाले भन्छ, ‘हाम्रो प्रतिनिधि किनियो !, निर्वाचन आयोगको प्रश्न थियो, ‘कतै ९० प्रतिशत मतदान भयो भन्ने नाममा कसरी पुनः मतदान गर्ने ? मतदान गरुञ्जेल सबै दलका प्रतिनिधिले सहमति जनाएका छन् ।
आयोगमा उजुरी परेपछि जिल्ला निर्वाचन कार्यालयलाई सोद्धा शुरुदेखि सबै प्रक्रिया दुरुस्त छ । त्यही ढंगले मतपेटिका प्राप्त भएको छ । अब त्यहाँ टोली पठाउने कि नपठाउने भन्ने विषयमा गलफत्ति चल्दा पठाउने भए अरुमा पनि पठाउने कुरा आयो । अर्को पक्षले पर्दैन भन्यो । बहुमतबाट निर्णय गर्नेमा आयोग पुग्यो । त्यसमा तीन–दुई भयो । त्यसबेला त्यहाँका निर्वाचन अधिकृत थिए, तत्कालिन सरकारी वकिल तथा गत मंगलबार न्यायपरिषद्द्वारा न्यायाधीश नियुक्त रामचन्द्र शर्मा । भनिन्छ, निर्वाचन अधिकृत र सिडिओ दुबै एमाले पक्षधर थिए । सिडिओ त पद्माले नै दोहोर्याएर लगेको भनिन्छ । चित्रबहादुर केसीले जितेको बाग्लुङमा पनि धाँधली भयो भनी उजुरी आएकै हो । बुझ्दा केही भेटिएन । धाँधली दुबै पक्षले गर्ने । जसले बढी गर्यो , उसका विरुद्ध कम धाँधलीवालाको उजुरी पर्ने अचम्मको रोग कतै छ भने त्यो नेपालमै छ ।
टिप्पणीहरू