त्रिकोणात्मक सिरिजमा नेपालले आज पनि जित्यो

त्रिकोणात्मक सिरिजमा नेपालले आज पनि जित्यो
सुन्नुहोस्

नेपाल, हङकङ र युएईबीचको टी-२० सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आज मुलपानी मैदानमा भएको खेलमा नेपालले हङकङमाथि ६ विकेटको सानदार जित निकालेको हो ।

हङकङले दिएको ९५ रनको झिनो लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर आसिफ शेखले सर्वाधिक रनको योगदान दिए । उनले ४१ रन बनाए । त्यस्तै, कप्तान रोहितकुमार पौडेलले २५ र गुल्सनकुमार झा १४ रनमा नटआउट रहे । अर्का ओपनर कुशल भुर्तेलले ८ रन बनाउँदा कुशल मल्ल १ र  सन्दीप जोरा ३ रनमै आउट भए । 

बलिङमा हङकङका इशान खानले ३ विकेट लिन सफल भए ।

त्यसअघि टस हारेरे ब्याटिङको निम्तो पाएको हङकङ १९.३ ओभरमा अल आउट हुँदै ९४ रनमा समेटिएको थियो । उसका लागि यासिम मुर्ताजाले सबैभन्दा बढी ३६ रन जोडे । जीशन अलीले १७ रन जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका करण केसीले पहिलो बलमै हङकङका कप्तान निजाकत खानलाई बोल्ड गरेका थिए । करणले सुरूवाती तीन ब्याट्सम्यानलाई आउट गरेपछि हङकङले पावरप्लेमा २० रन जोड्दा ४ विकेट गुमाएको थियो । 

त्यस्तै, सोमपाल कामी र अभिनास बोहराले २-२ विकेट लिए ।

यसअघि नेपालले बुधबार युएईलाई ७ विकेटले पराजित गरेको थियो । अब नेपालले शनिबार हङकङ र सोमबार युएईसँग खेल्नेछ । 

अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबीच उपाधिका लागि फाइनल भिडन्त हुनेछ ।

टिप्पणीहरू