मेलम्चीको पानी माग्दै एसका कार्यकर्ता केयुकेएल जाने

मेलम्चीको पानी माग्दै एसका कार्यकर्ता केयुकेएल जाने
सुन्नुहोस्

सत्तारुढ एकीकृत समाजवादीले मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने भएको छ । 

सो पार्टीको काठमाडौँ महानगर कमिटीले मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीको धारामा नआएको विषयमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड  (केयुकेएल)लाई सचेत गराउन लागेको हो । आज दिँउसो १ बजे त्रिपुरेश्वरस्थित केयुकेएलको कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरेको महानगर कमिटीका सचिव सरिता खनालले जानकारी दिइन् । 

आयोजना स्थापनाको ३० औं वर्ष बितिसक्दा पनि काठमाडौं उपत्यकामा खानेपानीको हाहाकार भएकाले केयुकेएलको ध्यानाकर्षण गराउन लागिएको उनले बताइन् । पानीजस्तो आधारभूत आवश्यकतालाई सरकारले खेलाँची ठानेको उनको आरोप छ । 

‘पानीजस्तो आधारभूत आवश्यकतालाई पनि नेपाल सरकारले खेलाँची ठानेर पानी व्यवस्थापन गर्न नसक्नु लाजमर्दो विषय हो । त्यसकारण हाम्रो पार्टी नेकपा एकीकृत समाजवादी काठमाडौं महानगर कमिटीले जनताको यो दुःखलाई मननगरी जनतालाई जस्तोसुकै परिस्थितिमा पनि खानेपानी खुवाउनका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछ’, जारी विज्ञप्तिमा उल्लेख छ ।

मेलम्चीको खानेपानी माग गर्दै उपत्यकाबासीले यसअघि पटकपटक आन्दोलन गरिसकेका छन् । ‘मेलम्ची खानेपानी संघर्ष समिति’ गठन गरेर उनीहरुले दबाबमूलक कार्यक्रम गरेपछि मेलम्ची खानेपानी विकास समितिले गत पुस ३ गते बैठक बसेर २८ दिनभित्र मेलम्ची खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो ।

टिप्पणीहरू