खेलकुदको प्रगतिले प्रधानमन्त्री प्रसन्न

खेलकुदको प्रगतिले प्रधानमन्त्री प्रसन्न

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरेका कारण ऐतिहासिक प्रगति हुँदै गएको दाबी गर्नुभएको छ ।

आज काठमाडौंमा नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित ‘‘चौंथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता २०८०’’ को उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले सो भनाई राख्नुभएको हो । प्रधानमन्त्रीले देशभित्र र बाहिर विभिन्न प्रतियोगितामा विजय प्राप्त गर्ने खेलाडीहरूलाई सरकारको तर्फबाट पटक-पटक पुरस्कृत गर्नुका साथै खेल क्षेत्रका पूर्वाधार निर्माणमा सरकारले उच्च प्राथमिकता दिएको पनि बताउनुभयो ।

'मेरो तेस्रो कार्यकालमा खेलाडीहरूको वृत्ति विकास र प्रोत्साहनलाई केन्द्रमा राखेर काम गर्दै आएको कुरा तपाईहरूले महशुस गर्नुभएकै होला', उहाँले भन्नुभयो, 'देशभित्र र बाहिर विभिन्न प्रतियोगितामा विजय प्राप्त गर्ने खेलाडीहरूलाई सरकारको तर्फबाट पटकपटक पुरस्कृत र सम्मानित गर्दै आएका छौँ ।’

गत कात्तिकको क्याविनेट बैठकले मूलपानी मैदान (तल्लो), मोरङको बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्ने निर्णय गरेको जनाउँदै प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रको विकासका लागि यो एतिहासिक कदम हो भन्नुभयो । 

आजको युगमा खेलकुदको बहुआयमिक महत्व भएकोमा जोड दिँदै उहाँले त्यसका निम्ति सरकारले गम्भीरतापूर्वक काम गरिरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘आजको दुनियाँमा खेलकुदको महत्व बहुआयमिक छ । हाम्रोजस्तो विकासशील देशका निम्ति खेलकुद क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आयाम हुन सक्छ, अन्तर्राष्ट्रिय कुटनीतिमा समेत यसको बहुआयमिक महत्व रहन्छ । विश्व राजनीति, अर्थतन्त्र, पर्यटनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले समेत खेलकुद क्षेत्र र खेलाडीहरूले राष्ट्रिय दूत र पुलको काम गर्न सक्दछन् ।’

टिप्पणीहरू