भीषण लुकामारी
कविता
हिमालहरु हाँसेनन्
मिर्मिरे बिहानी हुँदा पनि
घामको झुल्को नदेखिँदै
एकोहोरो बज्छ शंख
लाश बोकेर बित्छ दिन
मानिसहरु हैरान छन्
मृत्युसँग पराजित भएपछि ।
लाटकोसेरो एकोहोरो कराउँछ
गौंथलीहरु बेगिन्छन्
परेवा घुर्न छोड्छ
म शोक धुन बजाउँछु
मृत्यु गीत गाउँदै ।
मलाई जीवन प्रिय छ
अप्रिय लाग्छ मृत्यु
मैले पूरा गर्नु छ आमाको सपना
विगत सम्झेर भक्कानिन्छिन आमा,
खसम मृत्युले खोसेपछि
बिधवा बनेकी हुन् मेरी आमा
मलाई दुःख हण्डर खपेर हुर्काएसी
मिठा मिठा सपना देख्दी हुन् मेरी आमा
ठुले, तेरा बा यस्ता थिए
तेरा बा उस्ता थिए
बा कै गुण गान गाउँदै
मृत्युलाई सराप्छिन मेरी आमा ।
अनपढ, मेरी आमा
मेरो सुखमा
किन रमाउँछिन् ?
मेरो दुःखमा
किन रुन्छिन् ?
आमाको उदास अनुहार हेरर
मृत्युसँग प्रश्न गर्छु
मृत्यु, मेरा बा किन खोस्यौ ?
मलाई टुहुरो बनाएर ।
मृत्यु बोल्दैन
टपक्क मान्छे टिपेर हिड्छ
बेइमान मृत्यु
विवेकहीन भएर
टुहुरो, टुहुरी बनाउँछ
विधुर बनाउँछ
विधवा बनाउँछ
म प्रतिवाद गर्छु
मृत्यु मलाई गिज्याउँछ
लाग्छ, म हारिरहेको छु
मृत्यु जितिरहेको छ
जीवन र मृत्युको भीषण लुकामारीमा ।
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
टिप्पणीहरू