विडम्बना !
अचम्म लाग्छ मलाई
कस्तो देशमा जन्मिइएछ ।
भ्रष्टाचार रोक्ने आयुक्त
आफैं घुसको दलदलमा फस्छ
न्याय दिनुपर्ने निकाय आफैं
पीडित भएर बस्छ ।
देश बनाउन कस्सिएको नेता
घुसखोरीमा फस्छ
आफैं दलदलमा फस्छ ।
न नीति
न नेताको अवस्था छ ।
ऊ सधैं
भ्रष्टाचार रोक्न सक्दिनँ भन्छ
नातावाद तोड्न सक्दिनँ भन्छ
कृपावाद तोड्न सक्दिनँ भन्छ
अनि मौका परेपछि उही
सेवासुविधा सबै त्याग्छु भन्छ ।
रिस उठ्दा उसलाई
सिंहदरबार जलाउन मन लाग्छ
सबै खरानी पार्छु भन्छ
सिंहदरबारमा आगो दन्किनुअघि बेपत्ता
उसैले भष्मपछि दमकल पठाएकै हो भन्छ ।
अचम्म लाग्छ मलाई
कस्तो देशमा जन्मिइएछ
रिस उठ्दा हामी
आक्रोशित भीड बनेर
घर जलाउँछौं
पसल जलाउँछौं
अदालत जलाउँछौं
देश जलाउँछौं
अनि होस् खुलेपछि
सेना र प्रहरीलाई
किन रोकिनस् भन्छौं ।
–अनन्तराज लुईंटेल
बालकोट, भक्तपुर ।
टिप्पणीहरू