आमा ! मलाई न्याय चाहिएकाे छ ।
–कुश्मा महरा (प्रगति)
ममताको छहारी हराएको म
हरेक स्पन्दनमा चोट छ
सहारा हराएको मान्छे म
बेसहाराको ट्याग लगाउन खोजिएको छ
तिम्रो पटुकीको फुर्कोले
आँसु पुछ्न नपाएको म
आज यो मझधारमा उभिएर
सत्मार्ग खोजिरहेछु आमा
केही खोजेको छैन मैले
घोर अपमानको चोटमा छु
यो पल
मात्र न्याय चाहिएको छ आमा !
तिमी न्यायमूर्ति
तिमी क्रान्ति वीर
असमानताको पहाड फोड्ने
तिमी अविचलित योद्धा
स्वतन्त्रताको आवाज
तिमी आशाको पुन्ज
तिम्रो अगाध मायाले हो
म क्रान्ति यात्री बनेको
तिम्रो तातेताते सिकाइले हो
कदम चाल्न जानेको
तिम्रो सत्यप्रतिको विश्वासले हो
झुपडीमा दियो बालेको
तिम्रो आदर्शले हो
क्रान्ति गीत गुन्जाएको
आज आगो निभाउन खोजिँदैछ
चिसो अगेनोमा
फेरि दमन थोपरिँदैछ
यो पल
मानदारीको जीवन चाहिएको छ
मेरो अस्तित्व बाँचेको
मात्र न्याय चाहिएको छ आमा !
समय कुदिरहेछ आमा !
म कहाँसम्म पुग्छु थाहा छैन
तिम्रो प्रेरणा जीवित राखेर
तिम्रो भद्र,शालिन र शिष्ट जीवनशैली
मेरा सहपाठीदेखि
मेरो यात्राका हर मनसम्म पुर्याउन
थाकेको छैन,गलेको छैन म
मेरो यो अनवरत यात्रामा
पल पल तिम्रो प्रतिष्ठामाथि धावा बोल्छन्
र जेल पठाउँछन् विना कसुर
कहिले तिम्रो सन्ततीमाथि
बेजोड हमला गर्छन् र
लगाउॅंछन् बेनामी कसुर
यो पल म निर्भिक छु
तिमीलाई साक्षी राखेर भन्छु
म कसैको लँगौटिया बन्नु छैन
मलाई मात्र न्याय चाहिएको छ आमा !
आमा तिमीले छोडी गएपछि
तिमीले छोडेको रातदेखि
कति तड्पिएँ र रोएँ
कति भस्मासुर जन्मिए
पाइला पाइलामा अपमानको सुल बिझे
क्रुरता वीच म अविचलित जिएको छु
यो यात्रामा
कति धेरै पार्टी खुले
जट्ने,फुट्ने,अदल बदल र उतारचढाव
कतै ताली बजे,कतै खाली रहे
लाई छोएको छैन ताली र खालिले
अन्यायको कठघरा मात्र छ मेरो सामु
यो पल
मात्र न्याय चाहिएको छ आमा !
समूहहरू छन् स्वार्थको खेलमा
निर्दोष मेरै बुवा पटक पटक
पस्नु परेको छ जेलमा
कतै मनको नपुगेर फुट्छन् कतै टाउकाहरू जोडेर
भीमकाय संरचना बनेको ढ्वाङ पिट्छन् पाँच कुने तारा राखुन् या फालुन्
यो मेरो,यो तेरो जेसुकै भनुन्
घाइते र सहिदका काँध चढेर
इमान्दार र सोझालाई हुत्याएर
गर्ने सबै तिकडमले मलाई छोएन
यो पल
मलाई मात्र न्याय चाहिन्छ आमा !
तिम्रो अभावमा भिजेका परेलीले
न्याय देख्न चाहन्छ
तिम्रो वेदनाले दुखेको मुटु
न्याय धड्किरहन्छ
तिम्रो सपनाको स्पन्दन
स्तब्धताभित्र आक्रोश बनेर जिएको छ
न्याय मरेको यो दुनियाँमा
मलाई मात्र न्याय चाहिन्छ आमा ॥
२०८२ कार्तिक १९
(आमा सीता महराकाे पाँचाै स्मृतिमा उच्च सम्मान तथा भावपूर्ण श्रद्धासहित पूर्व सभामुख कृष्णबहादुर महराकी छोरीको कविता...)
टिप्पणीहरू