पूर्व आइजीलाई थुनाउने रविको त्यो प्लान

पूर्व आइजीलाई थुनाउने रविको त्यो प्लान

‘अर्काको भए कुरै चर्का, आफ्नोमा पिठ्युँ फर्का’ भनेजस्तो छ, रवि लामिछानेको पारा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अघिल्लोचोटि चिनियाँ नागरिकहरूको संलग्नतामा भएको सुन तस्करीलाई लिएर पूर्वप्रहरी प्रमुख, पत्रकारसहितका व्यक्तिलाई पक्रिनुपर्‍यो भन्ने उनै रवि लामिछाने अहिले शिव शिखर, सुमेरु, सिभिल, देउरालीसहितका सहकारीले झैं सर्वसाधारणमाथि ठगी गर्ने घटनामा प्रमाणसहित मुछिएका छन् । तर, पिठ्युँ फर्काएर ठूलो कुरा गर्दै हिँडेका छन् । शिव शिखर, सिभिल, देउराली सहकारीले जस्तो अन्तरजिल्ला, अन्तर्देशीय ठगी सञ्जालमा देखिएको उनको कसुरमाथि राज्य कहिलेसम्म चूप रहनुपर्ने हो ? 

जिबी राईसँग जोडिएर आएको सहारा बचत तथा ऋण सहकारी संस्था काण्डमा उनी स्पष्टतः दोषी देखिन्छन् । अर्थात्, संगठित अपराध भएको प्रष्ट छ । एक जिल्लाबाट अर्को जिल्लामा गएर कारोबार गरेका कारण यसमा बृहद् अनुसन्धान हुनुपर्ने अवस्था छ । विभिन्न व्यक्तिसँग नेक्सस भएर कारोबार गरेको छर्लङ्गै देखिएको छ । संगठित तथा अन्तर्देशीय अपराधको रूपमा पनि जोडिएको कारण केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले त्यसै रूपमा अनुसन्धानलाई तदारुकताका साथ अगाडि बढाइहाल्नु पर्ने हो । जसरी शिव सहकारी काण्डमा सिआइबीले अनुसन्धान गर्‍यो त्यसैगरी साहाराको पनि अनुसन्धान गर्‍यो भने ‘दूधको दूध, पानीको पानी’ हुने त छँदै छ । ती तमाम सहकारी पीडितको आशाको केन्द्र बन्ने मौकासमेत उसैले पाउनेछ । प्रश्न के पनि उठेको छ भने, सिभिल, देउरालीलगायतको सफल अनुसन्धान गरेको सिआइबीलाई जिबी राईको मुद्दाका हकमा अनुसन्धान गर्न दिन आइजिपीले किन खुट्टा कमाए ? प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ के हेरेर बसेका छन् ? 

त्यत्रा सुन काण्ड, हुण्डी कारोबारी, मुगुको हत्याकाण्ड, चितवनमा हत्या गरेर शव बोरामा पोका पारी भारतीयहरुलाई फालिएको घटनामा सिआईबीले दोषी पत्ता लगाइसकेको छ । यी र यस्ता सफल अनुसन्धान गरिरहेको संस्थालाई यसको पनि अनुसन्धान गर्ने जिम्मा दिए राम्रो देखिने पीडितहरूको भनाइ छ ।

अरुका हकमा रविले केसम्म गरे भने, प्रधानमन्त्री कार्यालयबाट सोझै मातहतको राजश्व अनुसन्धान विभागमा महानिर्देशक बनेर गएका नवराज ढुंगाना (चितवन थलो) बाट भन्सारको सुन काण्डबारे सूचना लिँदै केन्द्रीय अनुसन्धान व्युरोकी प्रमुख एआइजी किरण बज्राचार्यकहाँ पुगेर दावा छिरिङले हाइ–हेल्लो भन्ने मान्छेहरू यी हुन्, यिनलाई पनि पक्रेर जाक्नुपर्छ भन्दै नाम सुनाए । उनले संसदमा बोल्दैमा ‘एक–एक प्रमाण छ’ भनेका थिए । किरणले लिखित कागज मागिन्, तर दिन सकेनन् । उल्टै रविले स्टण्टबाजी गर्न थाले ।

किरणले ‘यसमा के–के छ प्रमाण, लिएर आउनुस्’ भनी सूचना नै जारी गरिन् । तर, रविले त्यो कागजात पनि दिएनन् । आखिर उनी मौका ढुकेर बस्ने मान्छे न परे ! अरुको बारेमा आइजीदेखि सारालाई शत्रु बनाएर जाक्न खोज्नेले आफ्नोबारे यत्रो प्रमाण निस्कँदा जोगिनुपर्ने किन ? सहकारी पीडितहरूको प्रश्न छ । उनीविरुद्ध एकपछि अर्को प्रमाण निस्किरहेका छन् । तर, नैतिकता महसुस गर्दैनन् । उल्टो सरकारलाई दोष लाउँछन् । त्यसमाथि दुई महिनाअघि पत्नीसहित मलेसिया गएर जिबी राईलाई भेटेको चर्चा छ । सूर्यदर्शनसहितका सहकारीबाट भएका ठगीमा रविले २०७५ सालदेखि २०७९ सालसम्मको जिम्मा लिनुपर्नेमा तर्किरहेको स्थिति छ । 

रविकै दबाबपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा पूर्वआइजिपी धीरजप्रताप सिंहसँग अहिलेका आइजिपी वसन्त कुँवरले बयान लिन निर्देशन दिएका थिए । जबकि रविको विषयमा लेनदेनसहित पुर्जीको कागज नै बाहिर आएको छ । र, पनि राज्य साइज साइजका मान्छे हेरेर हिसाब–किताब गर्दै छ ।

 

टिप्पणीहरू