गाउँपालिकाका निवर्तमान अध्यक्ष भ्रष्टाचारमा संलग्न

गाउँपालिकाका निवर्तमान अध्यक्ष भ्रष्टाचारमा संलग्न

हुम्लाको चंखेली गाउँपालिकाका तत्कालिन अध्यक्ष धनलाल चौलागाई भ्रष्टाचारमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीसहित आठ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले अध्यक्ष चौलागाईं, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर, असिस्टेन्ट सबइन्जिनियर अजबहादुर बुढा, वडा नम्बर ३ का पूर्वअध्यक्ष शालिग्राम ऐडी, उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बुढा र सचिव हंशबहादुर ऐडीविरुद्ध मुद्दा दायर गरिएको छ ।  

आर्थिक वर्ष २०७४÷०७५ मा चंखेली गाउँपालिकाद्वारा सञ्चालित वडा नम्बर ३ स्थित मेलादेखि बासलधारासम्म बनाइएको बाटोमा अनियमितता भएको पाइएको अख्तियारको आरोप छ । 

गलत प्रतिवेदन, झुट्टा बिल र भरपाई तथा नक्कली कागजात तयार पारी कार्य नै नगरी उपभोक्ता समितिलाई १० लाख २९ हजार ३२५ रुपैयाँ भुक्तानी दिइएको आयोगको अनुसन्धानबाट खुलेको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को कसुरमा कैद र जरिवाना हुन मागदाबीसहित उक्त रकम जफत गर्न समेत भनेको छ ।

टिप्पणीहरू