प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनौट गरिने
पूर्वतयारी सम्पन्न भएका र प्रतिफल सुनिश्चित देखिएका आयोजना मात्रै आगामी आर्थिक वर्षमा छनौट गरिने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरेको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विकास आयोजना छनौट गर्दा सामाजिक, आर्थिक लाभ, प्रादेशिक सन्तुलन, उत्पादन र रोजगारी सिर्जनालाई प्रमुख आधारका रुपमा लिइने बताउनुभयो ।
कार्यान्वयनमा रहेका तर अपेक्षित गति नलिएका सम्भाव्य आयोजनाहरु सार्वजनिक तथा नीजि साझेदारी अवधारणाअन्तर्गत सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइने सरकारले नीति लिएको छ । विकास कार्यक्रम तथा आयोजनाको अनुगमन तथा मूल्यांकन प्रणालीलाई सूचना प्रविधिमा आधारित र नतिजामूलक बनाइने जनाइएको छ ।
त्यस्तै, स्थानीय तहको विकास निर्माणमा प्रभावकारिता वृद्धि गर्न जिल्ला समन्वय समितिको अनुगमन क्षमता बढाइने पनि नीति कार्यक्रममा लेखिएको छ।
नीति तथा कार्यक्रममा खरिद कानूनमा पुनरावलोकन गरी खरिद प्रणालीलाई प्रतिष्पर्धी, पारदर्शी र विकासमैत्री बनाइने कुरा पनि उल्लेख छ ।
टिप्पणीहरू