समानुपातिकमा शून्य,एमालेबाट रोज्न थाले अन्य

समानुपातिकमा शून्य,एमालेबाट रोज्न थाले अन्य

नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरुको सूचीमा रुपन्देही जिल्लाबाट एक जना पनि नपरेपछि घटनाले नयाँ मोड लिन थालेको छ । यता ११ औं महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समानुपातिक सूचीमै नसमेटिनु,पार्टीभित्र आन्तरिक विवाद र शक्ति संघर्ष बाहिर देखिनु र एकजना उपाध्यक्षमाथि अनेक आशंका गरिनुलाई गम्भीर रुपमा लिइएको छ ।

महाधिवेशनका बेला दाङबाहेक लुम्बिनीका अन्य जिल्लामा कसलाई केन्द्रीय सदस्यको टिकट दिने भन्ने विषयमा विष्णु पौडेलको सिफारिस हावी भएको दावी महासचिव शंकर पोखरेल पक्षको छ । दाङमा भने पोखरेल समूहकै प्रभाव देखिएको र त्यहाँ मात्रै आफ्नो पक्षले स्थान पाएको उनीहरुको गुनासो छ ।

महासचिव निकटस्थहरु भन्छन्, ‘रुपन्देहीबाट केन्द्रीय सदस्य बनेका अधिकांश नेता विष्णु पौडेल नजिकका  हुन् । व्यवसायी गोपाल राना राजनीतिक क्याडर होइनन् । उनकै कारण लीला गिरीलगायत अनुभवी नेताहरूले अवसर पाएनन् । केपी ओलीले ती नाम अस्वीकार गरेपछि पौडेलले अडान लिएनन् ।’ 

त्यसरी अवसरबाट वञ्चित हुनेमा भोजप्रसाद श्रेष्ठ,तेजेन्द्र केसीजस्ता राजनीतिक क्याडर छन् । गुल्मीमा प्रदीप ज्ञवाली निकट राजेन्द्र अर्याललगायत पनि ओली सूचीबाट बाहिर राखिए । पाल्पामा पनि उस्तै भयो । बर्दियाका पुराना तथा इमान्दार नेता लक्ष्मण ज्ञवालीको नाम काटेर पौडेल निकट खड्ग खड्कालाई समेटिएको घटनालाई शंकर पोखरेल समूहले गम्भीर रुपमा लिएको छ ।

अहिले समानुपातिक उम्मेदवारको सूचीमा पाल्पाबाट चार जना छिर्दा रुपन्देहीबाट सोत्तर पारिएको छ । चर्चाअनुसार विष्णु पौडेल रुपन्देहीको सट्टा पाल्पाबाट चुनाव लड्ने तयारीमा छन् । त्यसैले उनको योजनामा पाल्पाबाट चार जनाले अवसर पाएका  हुन् । जबकी स्थानीय नेता तथा कार्यकर्ताले अपेक्षा दुई जनाको मात्र गरेको अवस्थामा चार जना समेटिनु अस्वाभाविक भएको टिप्पणी महासचिव निकटस्थहरुको छ । उता रुपन्देहीबाट भने एक जना पनि बन्द सूचीमा नपर्नुले घटनाक्रमलाई रहस्यमय बनाएको बताइन्छ ।

लुम्बिनीकै एकथरी एमालेजनले रुपन्देहीबाट समानुपातिक उम्मेदवार शून्य हुनुमा उपाध्यक्षको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् । तर, अर्काथरीले अघिल्लो महाधिवेशनमा रुपन्देहीका धेरै प्रतिनिधिले अध्यक्ष केपी शर्मा ओलीलाई भोट नहालेको ‘सजाय’स्वरूप अहिले यस्तो गरिएको हो कि भन्ने आशंका गरेको अवस्था छ । 

यसबीच पौडेल निकट मानिने पूर्व सांसद वासुदेव घिमिरे र उनको निजी सचिव भएर काम गरिसकेका चित्र केसीले आजदेखि एमाले छाडेका छन् । जबकी पछिल्ला केही वर्ष रुपन्देहीको पार्टी तथा राज्यसत्ता नै सम्हालेका केसीले एमाले त्यागेपछि आन्तरिक असन्तुष्टि गहिरिएको टिप्पणी छ । वासुदेव घिमिरेले यसअघि पौडेल निर्वाचितक्षेत्र नम्बर २ बाट उठ्ने प्रचार गरिसकेका छन् । जबकी यसअघि क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए । पहिले तिलोत्तमा नगरका मेयर थिए ।

एमालेमा पलायन,कांग्रेसमा स्थिरता ?

पछिल्लो राजनीतिक घटनाक्रममा स्थानीय तहमा एमालेबाट कार्यकर्ता तथा नेताहरू बाहिरिने क्रम बढेको देखिन्छ । तर कांग्रेसमा क्याडरहरुले पार्टी छोड्ने अवस्था हालसम्म देखिएको छैन । देशभर बालेन,कुलमान र रविले प्रभाव बढाउन खोजिरहेको सन्दर्भमा एमालेभित्र ‘के ठीक र के बेठीक’ भन्ने अन्योलले घर गरेको बताइन्छ । 

रुपन्देही जिल्ला कमिटीका एकजना नेता भन्छन्, ‘एमाले जिल्ला कमिटीकै एक जना नेताले केही महिनाअघि रवि अन्यायमा परेकै हुन् भनेर अड्डी कसे । ती नेताले केपी ओलीले नै रविलाई जेल हालेको भन्न भ्याए । तर, त्यस्ता नेता तथा कार्यकर्ताबीच रहेको भ्रम चिर्न पार्टी नेतृत्व असफल भएको छ । स्वयम् अध्यक्ष ओलीले पार्टी अवस्थाको मूल्यांकन नगरी मनपरी बोल्दा एमाले ओरालोतिर लागेको भान हुन्छ ।’

टिप्पणीहरू