यता जित्नासाथ उता गुण्डुमा राति बोलाएर लड्डु

यता जित्नासाथ उता गुण्डुमा राति बोलाएर लड्डु

कलेजका साहुजीहरुको संगठन ‘उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान)’ को नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।  महाधिवेशनले दुई कार्यकाल संगठनको नेतृत्व गरेका पदाधिकारीहरुलाई बढार्दै नयाँ नेतृत्व चयन गरेको छ । नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धनबाट उठेका उम्मेदवार पुरै ‘क्लिन स्वीप’ हुँदा एमालेकै अर्को पक्षले जितेको छ । गत पुस ११ गते राजधानीको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा महाधिवेशनको उद्घाटन भएको थियो ।  

उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गरेको दुई दिने महाधिवेशनमा झण्डै पाँच सयमध्येबाट ३ सय प्रतिनिधि सहभागी थिए जसले युवराज शर्माको प्यानललाई जिताएर लोकबहादुर भण्डारीको प्यानललाई हराएका छन् । भण्डारी संगठनका पूर्वमहासचिव हुन् भने शर्मा पूर्व वरिष्ठ उपाध्यक्ष । शर्माले १६७ भोट पाउँदा भण्डारी १०६ मा सीमित भए । त्यसैगरी,महासचिवमा एमाले महासचिवमा पराजित सुरेन्द्र पाण्डेनिकट चितवन–काठमाडौं सम्पर्क मञ्चका पूर्वअध्यक्ष रामहरि सिलवालले विजय हासिल गरेका छन् ।

स्थापनाको तीन दशकमा पहिलोपटक निर्वाचन हुँदा यसपटक पनि सर्वसम्मत गर्न खोजिएको थियो । तर,एमालेबाट यसअघि संगठनको नेतृत्वमा निर्वाचितहरुसँग एमालेकै प्रतिनिधि रुष्ट भएकाले निर्वाचन गराउनु परेको बताइन्छ । संगठनको सातौं र आठौं महाधिवेशनबाट अध्यक्षमा रमेश सिलवाल र महासचिवमा भण्डारी निर्वाचित भएका थिए ।

रामहरिले ओलीलाई भनेका थिए,‘तपाईँले भूगोल बुझ्नुभएको छैन । तपाईँलाई बद्नाम गराइरहेका छन् तल अध्यक्षज्यू । तपाईँलाई भ्रममा राखेका छन् । तपाईँले फिल्डमा क्रस चेक गर्नुपर्छ ।’ 

सिलवालले एघारौं महाधिवेशन प्रतिनिधिका लागि पनि पार्टीको शैक्षिक बिभागभित्र उम्मेदवारी दिएका थिए । २१ मध्ये तीन भोट ल्याएका उनलाई केन्द्रीय सदस्य बनाएर शिक्षा विभाग दिन्छु भनिएको थियो । तर,संगठनका प्रतिनिधिहरुले त्यसमा विरोध जनाए । सिलवाल महाधिवेशन प्रतिनिधिमा पछि परेपछि भण्डारीले अध्यक्ष हुने चाहना देखाए । तर,एमालेकै प्रतिनिधिहरुले असहमति जनाए । जसपश्चात् उनी काँग्रेससँग गठबन्धन गर्न पुगे ।

सिलवाल र भण्डारीले दुई कार्यकाल ‘बालकोट’ को रटान लगाएरै व्यतित गरेको हिसानका प्रतिनिधिहरुको आरोप छ । फेरि तिनै भण्डारीलाई संगठनको जिम्मेवारी दिन नहुने अठोटमा पुगेकाहरुले एमाले–एमालेको टिम बनाए । एमालेका भण्डारी अध्यक्षमा उठ्दा काँग्रेसका जयराम खनालले महासचिवमा उम्मेदवारी दिएका थिए । अर्को टिमबाट युवराज र रामहरि अध्यक्ष र महासचिवमा उठे । काँग्रेससँग गठबन्धन गर्दागर्दै भण्डारीको पुरै प्यानल हारेको हो ।

स्रोत भन्छ,‘दुई कार्यकाल उनीहरुले  सँधै बालकोट भनिरहे । हामीले अब यसरी हुँदैन भनेर एमाले–एमालेको टिम बनायौं । ७० प्रतिशत एमाले हाम्रो साथमा थिए । त्यसैले उनीहरु पराजित भए ।’ आफ्नो मान्छे हारेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले जितेकाहरुलाई गुण्डुमा आमन्त्रणा गरेका थिए । अस्ति  सोमबार राति युवराज र रामहरिलाई बोलाएर उनले लड्डु खुवाउँदै बधाई दिएका हुन् । सँगै उनले युवराज र रामहरिलाई आफ्नो मान्छे भन्दै मख्ख पार्न खोजे । 

सहभागी एक जनाले भने,‘उहाँले सोमबार राति बोलाउनुभएको थियो । हामी गएपछि उहाँले लड्डु खुवाउँदै बधाई दिनुभयो । तपाईँहरु पनि हाम्रै मान्छे हो भनेर टाकटुक कुरा मिलाउन खोजिरहनुभएको थियो ।’ भेटमा रामहरिले ओलीलाई भनेका थिए,‘तपाईँले भूगोल बुझ्नुभएको छैन । तपाईँलाई बद्नाम गराइरहेका छन् तल अध्यक्षज्यू । तपाईँलाई भ्रममा राखेका छन् । तपाईँले फिल्डमा क्रस चेक गर्नुपर्छ ।’

टिप्पणीहरू