एमालेलाई छोयो भने...
– सिंहराज
‘बाबा, बाबा, के एमाले भनेको बत्तीको स्वीच हो ?’
खाँदै गर्दा सानो छोरोले सोध्यो ।
एक छिन अवाक् भएँ, ‘बत्तीको स्वीच ? एमाले कसरी बत्तीको स्वीच हुन्छ छोरा ?’
छोरोले भन्यो, ‘अस्ति युट्युबमा एउटा अंकलले भन्दै थियो, एमालेलाई छोयो भने देश बन्द हुन्छ रे ! छोयो कि देश बन्द हुने भनेपछि यो एमाले भनेको त बत्तीको स्वीचजस्तै भयो नि, होइन र ?’
छोराको कुरा रोचक जस्तो लाग्यो । छोयो कि बन्द हुने, फेरि छोयो कि खुला हुने भनेपछि यो त बत्तीको स्वीच जस्तै नै भयो नि ! एमाले अध्यक्ष केपी ओलीले अस्ति यही भन्नुभएको थियो । एमालेलाई छोएर त हेर, छोयो भने देश ठप्प हुन्छ । त्यही कुरा सुनेर छोरो चकित भएको रहेछ, एमाले भन्या त गजबकै पार्टी रहेछ । किनभने यसलाई त छुनै हुन्न । छोयो कि देश ठप्प ।
छोयो कि देश ठप्प भनेको सुनेर मेरो मनमा पनि एउटा प्रश्न उठ्यो । एमालेलाई छोयो भने देश मात्रै ठप्प हुन्छ कि अरु पनि केही ठप्प हुन्छ ? जस्तो कि एमालेलाई छोयो भने भ्रष्टाचार ठप्प हुन्छ कि हुँदैन ? महँगी ठप्प हुन्छ कि हुँदैन ? राजनीतिक अस्थिरता ठप्प हुन्छ कि हुँदैन ? विदेशी हस्तक्षेप ठप्प हुन्छ कि हुँदैन ? एमालेलाई छोयो भने यी कुरा पनि ठप्प हुन्छ कि देश मात्रै ठप्प हुन्छ ? के के ठप्प हुन्छ कमरेड ?
टिप्पणीहरू