झापाको जग्गा काण्डमा कांग्रेस र एमाले आमनेसामने

झापाको जग्गा काण्डमा कांग्रेस र एमाले आमनेसामने
सुन्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टि इस्टेटको जमिन नेपाली कांग्रेसले कमिसनमा बेच्न दिएको आरोप लगाउनुभएको छ । आज पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले काँग्रेस नेतृत्वको तत्कालिन सरकारले टि-इस्टेटको १९ र ५१ बिगाहा जमिन मोटो कमिशन लिएर बेच्न लगाएको दाबी गर्नुभएको हो । 

यसअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने तत्कालीन क्याबिनेटविरुद्ध अनुसन्धान हुनुपर्ने धारणा राख्नुभएको थियो । ओली नेतृत्वको क्याबिनेटले टि—इस्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको गगनको दाबीलगत्तै ओलीको यस्तो प्रतिक्रिया आएको हो । 

काँग्रेसले गरेका बद्मासीबारे एमाले चुप लागेर बस्ने पक्षमा नरहेको जनाउँदै उहाँले यस प्रकरणको छानविन गर्न मागसमेत गर्नुभएको छ ।  

‘म भन्न चाहन्छु–५१ बिगाहा र १९ बिगाहा गरेर ७० बिगाहा जमिन त्यही गिरीबन्धु टि-इस्टेटको कमिसन खाएर बेच्न दिएको कुरा । यसमा छानविन हुनुपर्छ । अब नेपाली काँग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन । नेपाली काँग्रेसले गरेका बद्मासीहरुको बारेमा हामी कुरा उठाउछौं', ओलीले आक्रोशित हुँदै भन्नुभयो ।

आजको बैठकमा पनि ओलीले काँग्रेसले भन्दैमा गृहमन्त्री रवि लामिछाने दोषी ठहर नहुने पुरानै अडान दोहोर्याउनु भएको छ ।

गिरीबन्धु टि इस्टेटको हदबन्दी छुटको जग्गा सट्टापट्टा गर्न दिने निर्णय गर्ने तत्कालीन सरकारको निर्णय हालै सर्वाेच्च अदालतले बदर गरिदिएको थियो । त्यसपछि यसबारे विभिन्न कोणबाट टिका-टिप्पणी भैरहेका छन् । कतिपय कानुनका जानकारहरुले प्रधानमन्त्रीको हैसियतमा ओलीले आफू संरक्षित अर्थ–राजनीतिक सञ्जालको स्वार्थसिद्धि गर्नका लागि नीतिगत निर्णय गरेको दाबी गर्दै आएका छन् । 

यता, आजको बैठकमा पनि ओलीले काँग्रेसले भन्दैमा गृहमन्त्री रवि लामिछाने दोषी ठहर नहुने पुरानै अडान दोहोर्याउनु भएको छ । अप्रमाणित कुरा अघि सारेर कांग्रेसले मुलुकको समय बर्बाद पारिरहेको भन्दै उहाँले आक्रोश पनि व्यक्त गर्नुभयो । 

'नेपाली काँग्रेसले गरिमामय संसदको यति बहुमूल्य समय, सांसदहरुको बहुमूल्य समय,यो देशको बहुमूल्य समय यस प्रकारले कुण्ठाग्रस्त भएर खेर फाल्न हुँदैन । संसद सुचारु गराउनु पर्छ । हामी सुचारु गर्ने पक्षमा छौं',ओलीले भन्नुभयो, 'कहीँकतै अभियोजन छ भने अभियोजन चलाउने ठाउँबाट चल्ला । अनि काँग्रेसले नै अभियोजन चलाई हाल्ने ? काँग्रेसले नै फैसला पनि ठोकिहाल्ने ? प्रमाणित भ्रष्टाचारी ल्याएर, काँग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ । त्यति भन्छु । ’
 

टिप्पणीहरू