कोशीमा कमरेडहरुबीच यस्तोसम्म किचलो

कोशीमा कमरेडहरुबीच यस्तोसम्म किचलो
सुन्नुहोस्

जनतामा माओवादी केन्द्रप्रतिको विश्वास दिनप्रतिदिन घट्दो छ । पछिल्लो एक दशकयता निरन्तर सत्तामा रहेको माओवादीसामु जनपक्षीय काम गरेर पार्टीप्रतिको गिर्दो जनविश्वास उकास्ने महत्वपूर्ण अवसर थियो । तर, आन्तरिक एकता सुदृढ बनाउन नसक्दा माओवादी पार्टी नै संकटमा पर्दै गएको टिप्पणी भइरहेका छन् । 

यहीबीच कोशी प्रदेश समिति सदस्य द्वय दुर्गा चाैलागाइँ (श्रीकान्त) र डम्बर पुलामी (कर्मा)माथि जग्गा हिनामिना र दुर्व्यवहारको गम्भीर आरोप लागेको छ । कोशी प्रदेश समितिकै सदस्य भूमिका कोइरालाले विराटनगरस्थित पार्टी प्रदेश कार्यालयमा उजुरी दर्ता गरेकी हुन् । 

श्रीकान्तले सार्वजनिक जग्गालाई नीजिकरण गरेर ४७ लाखमा बेचेको भूमिकाको आरोप छ । 'उहाँ (श्रीकान्त)ले दमक १३ मा रहेको सरकारी कि.न १२४ सि.नं १७५/ ००१७/१६ को १३ धुर जग्गा आफ्नो ससुरा अग्निप्रसाद पाठकको नाममा दर्ता गराउनु भएको छ', भूमिकाले उजुरी पत्रमा भनेकी छन्, 'दर्ता गरेपछि दमकका नारायण बहादुर श्रेष्ठलाई ४७ लाखमा बिक्रि गर्नु भएको छ । म डकुमेन्ट पेश गर्ने नै छु, अबिलम्ब छानविन गरियोस् ।' 

श्रीकान्तले पार्टीकै पैसा पनि अपचलन गरेको उनको दावी छ । उनले भनेकी छन्, 'हाम्रै पार्टी कार्यालयको ढोका हालसम्म लगाएको छैन, तर उहाँले पैसा निकासा गरी रकम आफै अपचलन गरिसक्नुभयो ।' 

यस्तै,  भूमिकाले अर्का प्रदेश समिति सदस्य कर्माले आफ्नै पार्टीका नेता तथा कार्यकर्तामाथि कुटपिट गरेको आरोप लगाएकी छन् । 

वाइसिएल केन्द्रीय सचिवसमेत रहेका कर्मा गत वर्ष कारवाहीमा परेका थिए । ०८१ साउनमा माओवादी कोशी प्रदेश समितिले उनलाई  दुई महिना निलम्बन गरेको थियो । आर्थिक अपचलन र नेता तथा शुभचिन्तकमाथि अभद्र व्यवहार गरेको भन्दै उनलाई प्रदेश समितिले कारवाही गरेको हो । 

कर्माले पटक-पटक दुव्र्यवहारको आरोपमा पार्टीबाट कारवाही भोगेर पनि अझै नसुध्रिएको भूमिकाकाे दाबी छ । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै प्रश्न गरेकी छन्, 'जुन समस्याको कारणले उहाँ (कर्मा)लाई कारवाही गरिएको थियो, उक्त समस्या हल नै नभइकन निजको कारवाही किन फुक्का गरियो ?' 

अहिले फेरि कर्माले पुरानै हर्कत देखाएर आफ्नै पार्टीका नेता तथा कार्यकर्तासँग गुण्डागर्दीको व्यवहार गरेको भूमिकाले आरोप लगाईन् ।

'केही दिनअघि मात्र वडा नं ९ को पार्टी सम्मेलनमा कमरेड वेदु गौतमलाई हात छोड्नुभयो', उजुरी पत्रमा भनिएको छ, 'पार्टीको नगर सम्मेलनमा पनि शिक्षक महेन्द्र थापालाई हातपात गर्न मान्छे परिचालन गर्नुभयो ।' 

भूमिकाले गत चैत २३ सम्पन्न दमक खानेपानी तथा सरसफाइ समितिको निर्वाचनमा आफूलाई हराउन पनि श्रीकान्त र कर्माले मुख्य भूमिका खेलेको आरोप लगाएकी छन् । आफ्नो नैतिकतामाथि प्रश्न उठाउदै उनीहरुले सामाजिक सञ्जालमा भ्रम फैलाएको उनको दाबी छ । 

'मेरो चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा पोस्ट गर्ने र गराउने हाम्रै पार्टीका कमरेडहरु हो', उनले दावाका साथ भनेकी छन्, 'यी दुई निज व्यक्तिहरुलाई कारवाही प्रक्रिया अघि बढाउन म अनुरोध गर्दछु ।'

भूमिकाकाे उजुरीपछि यस विषयमा सत्यतथ्य अनुसन्धान गर्न प्रदेश समितिले शिव डाँगीको नेतृत्वमा छानविन समिति गठन गरेको बताइएको छ । उनै डाँगीले भने, 'पार्टीमा उजुरी परेको छ । हामी पार्टीको अन्य कामले गर्दा यो बिषयमा प्रवेश गरिसकेका छैनौँ । अब चाडैँ यो बिषयमा प्रवेश गर्छौ र छानबिन गरि सत्यतथ्य सार्वजनिक गर्छौ । दोषी जो कोही भए पनि कारबाहीको लागि पार्टीमा सिफारिस हुन्छ ।'

टिप्पणीहरू