आज परिचय, पर्सिदेखि चाैबिसै घण्टा काम : सूर्यबहादुर थापा
सहकारी संस्थाको बचत दुरुपयोगबारे अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले दुई दिनभित्र कार्यविधि बनाएर काम अगाडि बढाउने भएको छ । समितिको आज बसेको पहिलो बैठकले उक्त निर्णय गरेको बताइएको छ ।
सभामुख देवराज घिमिरेसमेतको उपस्थितिमा संसद भवनमै बसेको बैठकले दुई दिनमा कार्यविधि तयार गरेर अर्को बैठकमा पेश गर्ने गरी मस्यौदा समिति गठन गर्ने निणर्य गरेको छ । प्रतिनिधि सभाबाट पारित समितिको कार्यादेश, राजनीतिक दलहरुबीच भएको सहमति, कार्यक्षेत्र र अनुसूचीमा समावेश सहकारी संस्थाको नामावलीसहितको दस्तावेज सभामुखद्वारा सभापति सूर्य थापालाई हस्तान्तरण गरिएको थियो । थापाले तोकिएकै समयमा अनुसूचीभित्रका सहकारीहरुमा केन्द्रित भएर काम सम्पन्न गर्न आज छलफल गरिएको बैठकपछि जानकारी दिए ।
आज पहिलो बैठक भएकाले सदस्यहरुबीच सामान्य परिचय गरिएको बताउँदै उनले तोकिएको समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाएका छन् । समितिलाई तीन महिनाको समय दिइएको छ ।
त्यस्तै, समिति सदस्य ईश्वरीदेवी न्यौपानेले पनि तीन महिनाभित्रै काम सम्पन्न गर्न रातदिन काम गर्ने समझदारी भएको बताइन् । आफूहरु कुनैपनि बहानामा समय थप गर्ने पक्षमा नरहेको उनले स्पष्ट पारिन् ।
‘तीन महिनाको लागि समय दिने । १५–१५ दिन थपेर पुनः तीन महिना पुर्याउने प्रचलन पनि नभएको होइन’, काँग्रेसको तर्फबाट समिति सदस्य रहेकी न्यौपानेले भनिन्, ‘तर बोल्नेक्रममा सबै सांसदहरुले के राख्नुभयो भने तीन महिनाभित्र सक्नुपर्छ । रातदिन नभनी काम गरौँ भनेर सामान्य समझदारी कायम गरेका छौँ ।’
अर्का समिति सदस्य लेखनाथ दाहालले पनि त्यस्तै प्रतिबद्धता जनाएका छन् । कार्यादेशको मातहतमा रहेर समयभित्रै सर्वसम्मत निर्णयको आधारमा टुंगोमा पुग्ने उनको भनाई छ ।
तीन महिनाको कार्यावधि समितिको आजको पहिलो बैठक बसेको दिनदेखि गणना हुने जनाइएको छ । आगामी बैठक पर्सि शुक्रबार बस्दै छ ।
टिप्पणीहरू