विद्युतीय गाडी : कच्ची बाटाेमा कष्टपूर्ण सवारी
नेपालमा विद्युतीय सवारी साधन (इभी) प्रतिको आकर्षण बढ्दो छ । इभी प्रदूषणमुक्त छ । धुँवा नफ्याँक्ने भएकाले वातावरणमैत्री छ । यसले ध्वनि प्रदूषण पनि गर्दैन । भर्खर प्रयोगमा ल्याइएकाले यसको थप असरबारे नेपाली समाज जानकार छैन । सरकारले सन् २०३० सम्म निजी क्षेत्रका ९० प्रतिशत र सार्वजनिक क्षेत्रका ६० प्रतिशत यातायातलाई इभीमा लाने लक्ष्य लिएको छ । सोहीअनुसार काम पनि भइरहेको बताइन्छ । विद्युतीय गाडीको खपत बढेपछि आयात बर्सेनि बढ्दो छ ।
पेट्रोलियम पदार्थको आयातबाट मुलुकलाई ठूलो व्यापार घाटा छ । त्यसलाई कम गर्न र बिजुलीको प्रयोग बढाउन सरकारले इभीलाई प्रोत्साहन गरेको हो । त्यसो त विद्युत उत्पादन क्षमता बर्सेनि बढेको छ । तर, सोचेअनुरूप विद्युत उपभोग बढाउन सकिएको छैन र ठूलो मात्रामा विद्युत खेर गइरहेको छ । उपभोग बढाउने नीति नलिए आगामी दिनमा धेरै मात्रामा बिजुली खेर जाने सरोकारवालाहरूको भनाइ छ । उनीहरूले आयातित इन्धन खपत कम गर्न र बिजुलीको प्रयोग बढ्ने योजना ल्याउन सरकारलाई सुझाव दिएका छन् । सरोकारवालाहरूले इभी चार्जिङ स्टेशन बिस्तारमा जोड दिएका छन् । नेपाल विद्युत प्राधिकरणले हाल ५० बढी स्थानमा चार्जिङ स्टेशन जडान गरिसकेको छ, तर त्यो पर्याप्त छैन ।
अर्कोतर्फ सरकारले सार्वजनिक यातायातको हकमा विद्युतीय गाडीको आयु ३० वर्ष तोकेको छ । पेट्रोल तथा डिजेलबाट चल्नेभन्दा यो १० वर्षले बढी हो । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन २० वर्षमा विस्थापन गर्ने नीति छ । शुरुमा केही महँगो पर्ने भए पनि १० वर्ष बढी चलाउन पाइने भएकाले विभिन्न यातायात कम्पनीले विद्युतीय गाडी नै आयात गर्न थालेका छन् । साझा, सुन्दर, अन्नपूर्ण यातायातलगायतका कम्पनीले धमाधम विद्युतीय गाडी ल्याइरहेका छन् । यता, बजारमा विद्युतीय ट्याक्सी, बस, माइक्रोबस पनि छ्याप्छ्याप्ती देखिन थालेका छन् ।
निजीतर्फ कार र स्कुटरको प्रयोग बढेको छ । नेपालमा महिन्द्राको इटुओ, बिवाइडी, किया निरो, एमजी जेटएस, हुण्डाईको कोना, आयोनिक, टाटाको नेक्सन इभी, निसानको लिफ, ओमोडालगायतका कार बिक्री भइरहेका छन् । एकाध भारतीय र अन्य मुलुकका भए पनि नेपालमा बिक्री हुने अधिकांश गाडी चिनियाँ कम्पनीका छन् । इभीको सञ्चालन खर्च निकै कम भएको प्रयोगकर्ताहरूको प्रारम्भिक अनुभव छ ।
हजारौंको इन्धन हाल्नुपर्नेमा एकाध सयको बिजुली चार्ज गर्दा पुग्छ । पेट्रोलियम पदार्थको तुलनामा कम मर्मतसम्भार गरे पुग्छ । इभीको खपत बढेसँगै लक्ष्मी ग्रुपले नेपालमै हुण्डाई कम्पनीको गाडी उत्पादन थालेको छ । लक्ष्मी मोटर्स कर्पोरेसनले पहिलो चरणमा नवलपरासीमा भेन्यु गाडीको उत्पादन थालेको छ । तर, यसमा पेट्रोलियम पदार्थको प्रयोग हुन्छ ।
ठूला शहरमा आकर्षण, ग्रामीण क्षेत्रमा विकर्षण
काठमाडौं उपत्यकासहित सडक सञ्जाल पुगेको ठाउँमा इभीको प्रयोग बढे पनि ग्रामीण भेगमा खासै प्रभाव पार्न सकेको देखिँदैन । सरकारले गाउँमा इभीप्रति आकर्षण बढाउन पहल गरेको पाइँदैन । इभी चिल्ला सडकका लागि मात्र भएकोजस्तो देखिन्छ । गाउँगाउँमा इभी पुर्याउन सरकारसँग प्रभावकारी योजना छैन । आन्तरिक पर्यटन वृद्धिमा यो बाधक बनेको पाइन्छ । मुलुकका अधिकांश सडक पक्की छैनन् । पहाडी र ग्रामीण भेगका कच्ची बाटोमा इभी गुड्न मुश्किल भएको अधिकांशको अनुभव छ । त्यसैले ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरू इभी खरिदमा हिच्किचाइरहेका छन् । यता, चार्जिङ स्टेशनहरू पनि शहर बजारमा मात्र सीमित छन् । इभीको प्राविधिक पक्ष बुझ्ने र सर्भिसिङका लागि दक्ष जनशक्तिको चर्को अभाव छ ।
पेट्रोलियमबाट चल्ने सवारीबाट भर्खरै इभीतर्फ उन्मुख भएकाले समस्या देखिन थालेको बताइन्छ । दक्ष जनशक्ति, पक्की सडक सञ्जालको विकास र विस्तार, बिजुलीको पहुँचसँगै ठाउँठाउँमा चार्जिङ स्टेशन र सर्भिस सेन्टरको व्यवस्था, आवश्यक पार्टपुर्जाको सहज उपलब्धता इभी प्रवद्र्धनको निम्ति आधारभूत तत्व हुन् । गाडी खरिदकर्ताहरू इभीको विकल्पमा अन्य सवारी साधन आउने आशंका गर्दछन् । बजारमा नयाँ–नयाँ प्रविधि भित्रिरहेका छन् । नयाँ उत्पादनको ‘लाइफ साइकल’ छोटो हुँदै छ । एउटा प्रविधिले बजार लिन नपाउँदै अर्को प्रविधि भित्रिसक्छ । उत्पादनहरूको निरन्तर ‘अपग्रेड’ भइरहेकाले धेरैजसो पर्ख र हेरको रणनीतिमा देखिन्छन् ।
नेपालमा हालैमात्र ‘ग्रिन हाइड्रोजन’ (जलविद्युत र पानी प्रशोधन) बाट सवारी साधनको परीक्षण सफल साबित भएको छ । आगामी केही वर्षमा यस्ता सवारी साधनले बजार लिने अनुमान गरिँदैछ । ०८१/८२ को बजेट वक्तव्यमार्फत सरकारले इभीमा कर बढाएको छ । अहिले बढाइएको करले विद्युतीय गाडीको मूल्य बढ्ने नाडा अटोमोबाइल्स् एशोसिएसन अफ नेपालका कर्मचारी प्रमुख सुरेन्द्रमान प्रधानले जानकारी दिए ।
ब्याट्री व्यवस्थापनमा चुनौती
इभी ब्याट्रीबाट चल्छ । तर, त्यो ब्याट्रीको व्यवस्थापन कसरी गर्ने ? सरकारसँग कुनै योजना देखिँदैन । अमेरिका, चीनलगायत विकसित मुलुकले व्यवस्थापनको तयारी थालिसकेका छन् । ब्याट्री ‘रिसाइकल’ का निम्ति अध्ययन र परीक्षण गरिरहेका छन् तर नेपाल सरकार भने यसतर्फ खासै अग्रसर भएको पाइँदैन । इभी प्रयोगकर्ता र अन्यको पनि सबैभन्दा ठूलो चिन्ता ब्याट्रीको हो । इभीको ब्याट्री एकदेखि दुई दशकसम्म चल्ने अध्ययनहरूले देखाएको छ । तर, त्योभन्दा अगावै ब्याट्री बिग्रिने गुनासो पनि छ । त्यसपछि नयाँ ब्याट्री फेर्नैपर्छ । नयाँ ब्याट्री खरिद गर्नुपरेको अवस्थामा गाडीको आधा मूल्य तिर्नुपर्छ । इभीमा प्रयोग हुने ब्याट्री ‘लिथियम आयन’ बाट बनेको हुन्छ । त्यसैले ब्याट्रीलाई धेरै तातो र चिसो तापक्रममा राख्नै हुँदैन ।
ब्याट्री जोगाउन प्रयोगकर्ताले धेरै कुरामा ध्यान दिनुपर्ने अटो व्यवसायीहरू बताउँछन् । ब्याट्री रित्तिन नदिने, ओभरचार्ज नगर्ने, ड्राइभ सकाउनेबित्तिकै चार्ज नगर्नेलगायत सावधानी अपनाउनुपर्ने हुन्छ । त्यस्तै, ड्राइभिङमा पनि निकै ख्याल गर्नुपर्छ । यस्ता विषयमा गरिएको र गरिने खेलबाडको परिणाम अबको केही वर्षपछि हाम्रो समाजमा देखिने पक्का छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू