चौधरीको व्यापार अर्बौंको,कर सुको जत्तिको

चौधरीको व्यापार अर्बौंको,कर सुको जत्तिको

विवादास्पद व्यापारी तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरीको कम्पनी सिजी फुड्सले उत्पादन गरेको चाउचाउ ‘वाइवाइ’ सम्वन्धी बिज्ञापन  सँगै विवाद बढ्दो छ । बैशाखमा गुणस्तरहीन चाउचाउ उत्पादन गरेको भेटिएपछि काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको थियो । त्यसपछि सिजीले वाइवाईको विज्ञापनमा विशेष जोड दिँदै आएको छ ।

सिजीले दिएको जानकारीमा नेपालपछि भारतमा वाइवाइको सबैभन्दा धेरै उपभोग हुने गरेको उल्लेख छ । ‘तयारी चाउचाउ’ भएकाले वाइवाइलाई रुचाइएको पनि भनाउने गरिएको छ । नेपाली बजारमा वाइवाइले चाउचाउको ६५ प्रतिशत हिस्सा ओगटेको उसको दाबी छ ।

सोही कम्पनीले वार्षिक तीन अर्ब प्याकेट चाउचाउ विश्वभर बिक्री गर्दै आएको जानकारी दिएको छ । सन् १९८४ देखि उत्पादन थालेको वाइवाइ, हङकङ,इन्डोनेसिया,भारत,भियतनाम, जापान,अमेरिका,फिलिपिन्स,कोरिया, थाइल्याण्ड,नाइजेरियालगायतका मुलुकमा बिक्री हुने गरेकोे कम्पनीको विज्ञापनरुपी समाचारमा देखिन्छ ।जसअनुसार वाइवाइले सन् २०२२ मा ८ अर्ब १ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२१ मा ७ अर्ब २३ करोड ४० लाख, सन् २०२० मा ५ अर्ब ६६ करोड ४० लाख, सन् २०१९ मा ६ अर्ब ८९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको उसको हिसाब छ ।

वर्षेनी अर्बौंको व्यापार गर्ने सिजीले राज्यलाई करचाँहि कति तिर्ला ? यो सर्वाधिक जनचासोको विषय हो । अर्बौंको व्यापार गरेको प्रचार गर्ने सिजी र उसका मालिकले कर तिरेको विवरण भने कहिल्यै पनि सार्वजनिक गर्दैनन् । डलर अर्बपतिसमेत रहेका चौधरीको सिजी ग्रुप मुलुकभित्र कर बुझाउने सूचीमा निकै तल छ । 

ठूला लगानीकर्ताले नै राजश्व छल्दा राज्यलाई ठूलो घाटा भइरहेको सरकारी अधिकारीहरु बताउँछन् । सिजीले भारतमा समेत कर छलेको आशंकापछि त्यहाँको आयकर विभागले कम्पनीको कार्यालयमा छापा मारेको थियो । जयपुरस्थित कम्पनीले आयकर छलेको आशंकामा गत असोजमा विभागले छापा मारेको हो । जयपुर,दौसा र सिकरमा छापा मार्न चौधरीको कम्पनीमा विभागका अधिकारीहरु पुगेका थिए । 

त्यस घटनाले अन्तर्राष्ट्रियस्तरमै चर्चा पाएको थियो । पछिल्लो समय वाइवाइको गुणस्तरमाथि व्यापक प्रश्न उठेको छ । गुणस्तरहीन भेटिएपछि काठमाडौं महानगरपालिकाले गत वैशाख १२ गते वाइवाइलाई जरिवाना तिराएको छ । 

निरीक्षणका क्रममा चाउचाउमा क्यान्सर हुने घातक रसायन भेटिएपछि महानगरले कारबाहीस्वरुप दुई लाख रुपैयाँ जरिवाना तिराएको हो । त्यस्तै, धरान उपमहानगरपालिकाले पनि केही महिनाअघि उक्त कम्पनीलाई कारबाही गरेको थियो । केही समयअघि उक्तबचाउचाउ कुहिएको अवस्थामा धागोसमेत भेटिएको थियो । 

वाइवाईमाथिको जनविश्वास गुम्दै गएपछि सिजी ग्रुपले भटाभट सञ्चारमाध्यमलाई प्रयोग गर्न थालेको छ । आफ्नो उत्पादन उत्कृष्ट रहेको जनाउँदै चौधरीका बाउछोराले केही सञ्चारमाध्यममार्फत् बिज्ञापन गर्दै आएका छन् । कोभिड १९ महामारीपछि उक्त चाउचाउको तौल घटाइए पनि भाउ भने यथावत राखिएको छ ।

टिप्पणीहरू