एमालेबाट मन्त्री बन्नेमा को छुटे,को जुटे ?

एमालेबाट मन्त्री बन्नेमा को छुटे,को जुटे ?
सुन्नुहोस्

एमालेले आज गठन हुने नयाँ मन्त्रिमण्डलमा आफ्ना मन्त्रीहरुको नाम बिहान अबेरसम्म बसेर टुंगो लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीले अहिले बिहान ११ बजे राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गरेलगत्तै मन्त्रीहरुको शपथ हुने कार्यक्रम छ ।

गएराति बालकोटमा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष विष्णु पौडेल,महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालको टिमले मन्त्रीको नाम टुंग्याएको हो । यसअघि चर्चामा रहेका विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्री नै तोकिएको छ । लमजुङका पृथ्वीसुब्बा गुरुङलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री र मानवीर राईलाई रक्षा मन्त्रालयको जिम्मा लगाउन लागिएको छ । राई गत निर्वाचनमा सोलुखुम्बुमा बलबहादुर केसीलाई हराउने सांसद हुन् ।

अन्य मन्त्रीमा कास्कीका विद्या भट्टराईलाई शिक्षा तोकिएको छ । यसअघि प्रचण्ड क्याबिनेटमा रहेका दुई जना मन्त्री बलराम अधिकारी र दामोदर भण्डारीलाई पुरानै भूमिसुधार र उद्योग मन्त्रालयमा यथावत राख्ने निर्णय भएको छ ।

त्यस्तै वीरगन्जका राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन र झापाका देवेन्द्र दाहाल भौतिक पूर्वाधार मन्त्री बन्दैछन् । यसअघि निकै चर्चामा रहेका योगेश भट्टराई,कृष्णगोपाल श्रेष्ठ र पदम गिरीको नाम यसपटकलाई काटिएको छ । अध्यक्ष ओलीले मन्त्री बनाउन कसैलाई वचन नदिएकाले पनि नाम छनौट गर्न सजिलो भएको बैठकमा सहभागी एक जना सदस्यले बताए । प्रधानमन्त्रीले काँग्रेससँगको सहकार्यमा बलियो टिम लैजानुपर्ने एजेण्डा प्रस्तुत गरेपछि ती नाम छनौट भएको बताइन्छ ।

ती सदस्यले भने,‘चर्चामा रहेका बाँकीलाई दुई वर्षपछि पालो आइहाल्छ नि भनिएको छ । भलै राजधानीबाट नेवार समुदायका कृष्णगोपाल भने यस पटक पनि मन्त्रिण्डलमा अटाएनन् ।’

उता काँग्रेसले प्रकाशमानलाई उपप्रधान तथा ऊर्जामन्त्री बनाउने तयारी गरेको बताइन्छ । परराष्ट्रमा आरजू राणा देउवा र गृहमन्त्रीमा रमेश लेखक पहिले नै निश्चित छन् । नुवाकोटका अर्जुननरसिंह केसी पर्यटनमन्त्री बन्ने सम्भावना भए पनि  गगन थापा समूहले उपलब्ध गराएको टोलीमा उनको नाम छैन । थापा समूहले प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीसहित चार जनाको नाम सभापतिलाई दिएको बुझिएको छ ।

टिप्पणीहरू