प्रधानमन्त्री ओलीलाई दुई तिहाई मत
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत पाउनुभएको छ । नेपाली कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएका उहाँले संसद्को दुईतिहाइ समर्थन प्राप्त गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले आज संविधानको धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमाथि मत विभाजन हुँदा उहाँको पक्षमा १८८ मत खस्यो । ७४ जना सांसदले विपक्षमा मत हाले भने १ जना तटस्थ बसे ।
प्रधानमन्त्री ओलीको पक्षमा कांग्रेस र एमालेसहित ७ वटा दल र दुई स्वतन्त्र सांसदले मतदान गरेका छन् । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसदले विपक्षमा मत हाले ।
संविधानको धारा ७६ (२) अन्तर्गत नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
टिप्पणीहरू