टेलिभिजनको काण्डबारे फेसबुकमा लेख्दा
सरकारी टेलिभिजनमा सितन साझेदारलाई मासिक १० हजार तलब बढाएको भनी फेसबुकमा लेख्नेलाई ४ महिना बित्दा पनि कारबाही गर्न हम्मे परेको छ । इटहरी च्यानलका प्रमुख डा. राजेन्द्रराज तिमिल्सिनाले फेसबुकमा लेखेका थिए– दारू पार्टनरलाई मासिक १० हजार तलब बढाउनु घपाला हो । लगत्तै उनलाई इटहरीबाट फर्काएर योजना महाशाखामा राखिएको छ । शुरुको पत्र नबुझेपछि अर्को पत्र काटेको पनि दुई महिना भइसकेको छ ।
दोस्रो पत्र बुझाउन प्रशासनका डिजीएम चिन्तामणि बराल, प्रशासन प्रमुख पुरुषोत्तम महर्जन र शाखा प्रमुखहरूलाई महाभारत परेको छ । तिमिल्सिनालाई पत्र बुझेर दुई लाइन स्पष्टीकरण दिलाउन उनीहरू लागिरहेका छन् । कारबाही भएमा नराम्रो हुने भएकोले पत्र बुझेर २ लाइन स्पष्टीकरण लेख्न वा स्ट्याटस डिलिट गरेर पेज ह्याक भएको या त्यस्तै केही लेखी उम्किन सल्लाहसमेत दिइसकिएको छ । रेडियो नेपालका खेल संवाददातालाई तेह्रौँ तहको कार्यकारी अध्यक्ष बनाएपछि टेलिभिजन लथालिंग छ ।
टेलिभिजनका पाँच वटै च्यानल ब्ल्याक आउट यही कार्यकालको शुरुमै भएको थियो । टेलिभिजन नै बन्द भएको विषयमा उच्च अधिकृतहरूलाई काटेको स्पष्टीकरणको जवाफ पाएपछि ती सबै पत्र फिर्ता लिनुपरेको थियो । ४ करोड ८७ लाखको डिजिटल अर्काइभको बजेट रकमान्तर गरी अडियोभिजुअल सामान किन्न लाग्दा ठूलो प्रतिवाद भएको थियो । त्यसमा उपसमितिको संयोजक बरालले ४ महिना घटुवा भेटेका थिए ।
सातौँ तहका गोविन्द धितालको सल्लाह अध्यक्षलाई विशेष रहने गरेको छ । पछि समाचार प्रमुख पुष्पहरि क्याम्पा राईलाई जुनियर मान्छेको पछि लागेर आफूलाई थर्काउन लगाएको विषयमा सम्झाइएको थियो । बराललाई हप्काउने बेला राई, अनिता विन्दु र निराजन खनाल पनि धितालसँगै कोठामा पुगेका थिए ।
यस्तै कामको लागि मासिक १० हजार होइन, २५ हजार धिताललाई ख्वाउने गरिएको छ । १० हजार अतिरिक्त भत्ता दिने निर्णय गत वर्ष नै सञ्चालक समितिबाट भएको हो तर समितिको निर्णय शाखा महाशाखामा पठाउने चलन हटाइएको छ । अतिरिक्त भत्ता नेपाल सरकारको सबै निकायमा अन्त्य भइसकेको छ । यसरी भत्ताको नाममा तलब बढाउनु भ्रष्टाचार हो भनेर तिमिल्सिनाले फेसबुकमा लेखेका थिए । अर्को १५ हजारचाहिँ प्रदेश डायरीको नाममा धिताललाई दिइएको छ ।
– देखी जान्नेहरू
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू