गतिछाडा नहुन राप्रपा नेताको सल्लाह
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले गीत संगीत क्षेत्रमा विकृति भित्रिएको जनाउँदै गति नछाड्न सल्लाह दिएका छन् ।
हिन्दू नारीहरुको तीज पर्व नजिकिँदै गर्दा गीत संगीतको माहौल बढेसँगै विकृति भित्रिएको उनले बताए । भ्युजको लोभ तथा भाइरल हुने होडमा गीत संगीतमा प्रशस्त विकृति भित्रिएको उनको ठहर छ । ‘आजकल भ्युजको लोभ, भाइरल हुने, अरुभन्दा फरक देखिने, बढी व्यवसाय गर्ने र जसरी पनि नाफा कमाउने होडमा हाम्रो गीत संगीतमा प्रशस्तै विकृति भित्रिएका छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नबिर्साैं, आधुनिकताको नाममा लज्जाविहीन हुनुहँुदैन । आधुनिक हुनु भनेको गतिछाडा, मतिछाडा हुने भन्ने होइन ।’
यसको निगरानी गर्न माग गर्दै प्रवक्ता श्रेष्ठले तीजलाई विकृत तुल्याउनेहरुले सांस्कृतिक घुसपैठ गरिरहेको आशंका समेत व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘यो पर्वको निरन्तरता चाहनेहरुले यसको सामाजिक सांस्कृतिक महिमा र महत्व, मर्म र भावनाको जगेर्ना गर्छन्, गरिरहेका छन् र गर्नुपर्छ । यसलाई विकृत तुल्याउनेहरुले कतै सांस्कृतिक घुसपैठ त गरिरहेका छैनन् ? लहैलहैमा नलागी गम्भीरतापूर्वक सोचौं है !’
टिप्पणीहरू