कुलमानलाई हटाए सरकारविरुद्ध उत्रने तामाङहरुको चेतावनी

कुलमानलाई हटाए सरकारविरुद्ध उत्रने तामाङहरुको चेतावनी

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यकाल अझै एक वर्ष बाँकी छ । उनलाई २०७८ साउन २७ गते नेपाली कांग्रेस र माओवादी गठबन्धको सरकारले दोश्रो पटक प्राधिकरणको नेतृत्व गर्ने जिम्मेवारी दिएको थियो । 

तर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएसँगै घिसिङसँगको ‘केमेस्ट्री’बारे विभिन्न अड्कलबाजी गरिएको छ । घिसिङलाई सरकारले कार्यकाल अगावै प्राधिकरणबाट हटाउन खोजेको भन्ने टिप्पणीसमेत सुन्न थालिएको छ ।

तामाङ राष्ट्रिय मुक्ति मोर्चाले प्रधानमन्त्रीद्वारा कार्यकारी निर्देशक  घिसिङमाथि प्रतिशोधपूर्ण व्यवहार गर्न थालिएको जनाएको छ । मोर्चाले विज्ञप्ति जारी गर्दै सरकारले घिसिङमाथि कुनै गलत कदम चाले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मोर्चा अध्यक्ष डिल्लीमान तामाङ र महासचिव लीलाकुमार घलानद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘विद्युत् प्राधिकरणको उठ्न बाँकी रकम असुल उपर गर्न पहलकदमी लिइरहेका घिसिङलाई प्रतिशोधपूर्ण ढंगले कारबाही, पदमुक्त वा अन्य कुनै कारबाही प्रक्रिया अगाडि बढाएको खण्डमा हाम्रो मोर्चा आन्दोनलमा उत्रिने चेतावनी दिन चाहन्छौं ।’

प्रधानमन्त्री ओलीले ‘जंगबहादुर’को शैलीमा घिसिङलाई दबाब दिएर सीमित उद्योगीहरुको हितको लागि विधि र प्रक्रिया मिचेको भन्दै मोर्चाले निन्दा गरेको छ । ‘पुरानो मन्त्रिपरिषद्ले गरेको निर्णयको आधारमै विद्युत महशुल उठाउन लागि परेका घिसिङलाई रकम उठ्ने कुराको टुंगो नलगाई तत्काल लाइन जोड्न निर्देशन दिने र त्यसैको आधारमा समाधान खोज्ने ओली प्रवृतिको जति निन्दा गरे पनि कम हुन्छ’, विज्ञप्तिमा उल्लेख छ । 

ती उद्योगीहरुले प्राधिकरणको बक्यौता रकम नतिरेसम्म आमनागरिकलाई पनि कुनै बक्यौता रकम नतिर्न मोर्चाले आग्रह गरेको छ । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पनि प्रधानमन्त्रीले जनतालाईभन्दा पनि आफू निकटका उद्योगीहरुलाई मात्रै फाइदा हुने काम गरिरहेको आरोप लगाएका छन् । उनले जनआस्थासँग कुराकनी गर्दै सरकार बिचौलियाहरु पाल्न लागिपरेको दाबी गरे । 

‘डेडिकेटेड र ट्रंकलाइन विवाद सुल्झाउन ०७२ सालयता विभिन्न समिति, उपसमितिहरु बनेका छन्, मन्त्रिपरिषद् र अदालतले समेत रकम उठाउन भनेको छ’, उनले भने, ‘तर अहिले सरकारले के गरिरहेको छ त भन्दा, जुन विचौलियाको घरमा बसेर मध्यराती गठबन्धन बनाइयो,त्यस्ता बिचौलियाहरुलाई पाल्न प्राधिकरणका कार्यकारी निर्देशकको शिकार गर्ने काम भइरहेको छ ।’
 

टिप्पणीहरू