सिंहदरबारबाट सरकारलाई प्रचण्डको धन्यवाद !

सिंहदरबारबाट सरकारलाई प्रचण्डको धन्यवाद !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित टिआरसी विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले जुटाएको सहमतिलाई नयाँ सरकार गठनपछिको राम्रो काम भन्नुभएको छ ।

आज सिंहदरबारमा कार्यदलको प्रतिवेदन बुझ्ने क्रममा उहाँको त्यस्तो प्रतिक्रिया आएको हो । कार्यदलको प्रतिवेदनका आधारमा टीआरसी विधेयक संसदको चालू अधिवेशनबाट पारित हुने प्रचण्डले विश्वाससमेत व्यक्त गर्नुभयो । 

‘कार्यादलले एउटा समझदारीका साथ प्रतिवेदन बुझाएको छ । म कार्यदललाई विशेष रुपले धन्यवाद भन्न चाहन्छु । यो राजनीतिक नेतृत्वका लागि मात्रै होइन, शान्ति स्थिरताको पक्षमा रहेका नागरिकको लागि खुशीको कुरा हो', उहाँले भन्नुभयो, 'नयाँ सरकार गठन भएपछिको यसलाई एउटा राम्रो काम भन्ने ठान्छु र सरकारलाई पनि धन्यवाद भन्न चाहन्छु ।’

लामो समयदेखि छलफलमा रहेको र सहमतिको नजिक पुगेर पनि निश्कर्षमा पुर्याउन कठिन विषय अहिले टुंगिनु खुशीको कुरा भन्दै अध्यक्ष प्रचण्डले पीडितमैत्री बनाउँदै सहमति जुटाउनु अर्को राम्रो पक्ष भएको बताउनुभयो ।

शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन अब ढिलो गर्नु हुँदैन भन्ने लक्ष्यका साथ आफू प्रधानमन्त्री भएका बेला कार्यदल बनाएको उहाँले स्मरणसमेत गर्नुभयो । अब वैधानिक प्रक्रियाबाट संसदको समिति र संसदमा चालु अधिवेशनबाटै टुंग्याउन उहाँले आग्रह गर्नुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

टिप्पणीहरू