जम्बो मन्त्रीमण्डलविरुद्ध जनकपुरमा कुर्सी जुलुस
मधेश प्रदेशमा गठित २० सदस्यीय मन्त्रिमण्डलविरुद्ध जनता समाजवादी पार्टी नेपाल निकट युवा संगठनले जुलुस निकालेको छ । १२ मन्त्रालय रहेको प्रदेशमा मुख्यमन्त्री सतिशकुमार सिंहले पाँच जना राज्यमन्त्री नियुक्त गर्दै २० सदस्यीय मन्त्रिमण्डल बनाएपछि सर्वत्र आलोचना शुरु भएको छ । अनावश्यक रुपमा मन्त्री बनाएर राज्यलाई आर्थिक भार थोपरेको भन्दै समाजवादी युवा संघले आज जनकपुरमा कुर्सी जुलुस निकालेको हो ।
मधेशमा आठ जिल्ला छन् । तर जनमत नेतृत्वको सरकार २० जनालाई मन्त्री बनाएर सरकारको ढुकुटी दुरुपयोग गर्न खोजेको जसपा नेपालका प्रदेश सदस्य राम आशिष यादवले जानकारी दिए । उनले जनआस्थासँग भने, ‘प्रदेशमा ८ जिल्ला छन्, मन्त्रालय १२ वटा छन्, तर लाजामर्दो तरिकाले २० जना मन्त्री बनेका छन् ।’
आफूलाई नयाँ र क्रान्तिकारी भन्ने पार्टीले पुराना पार्टीभन्दा पनि तल्लोस्तरको काम गरेको उनको तर्क छ । उनले जनमतका अध्यक्ष सिके राउतको क्षेत्रमा मुख्यमन्त्री सिंहले तीन अर्ब बजेट पठाएको आरोप लगाए ।
‘सरकार त कांग्रेस, एमाले र हामीले पनि बनाएकै हौं, तर १५ सदस्यीयभन्दा बढी कहिल्यै बनाइन । हामीलाई त्यो संख्या पनि ठूलो लाग्थ्यो’, उनले भने,‘तर अहिले त लाजै पचाएर भएभरकालाई मन्त्री बनाइयो, त्यसैमाथि जो आफूलाई क्रान्तिकारी भन्छ, त्यही पार्टीले सिके राउतको क्षेत्रमा मात्रै तीन अर्ब पठाएको छ ।’
टिप्पणीहरू