गाउँपालिका अध्यक्षका अंगरक्षकको धम्की : प्रधानमन्त्रीलाई ‘बा’ सम्बोधन गरे मारिदिन्छु
शंकर श्रेष्ठ
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले कार्यकर्ताको ज्यान मार्ने धम्की दिएका धादिङको गजुरी गाउँपालिकाका कर्मचारी राजन लामा पक्राउ परेका छन् । फेसबुकमा पटक पटक स्टाटस लेख्दै ओलीलाई चर्को गाली र एमाले कार्यकर्तालाई मार्ने धम्कीपूर्ण अभिव्यक्ति दिएका उनलाई प्रहरीले हिजो साँझ नियन्त्रणमा लिएको हो ।
लामामाथि साइबर ब्युरो भोटाहिटीमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र नेपाल सरकारबीच भइरहेको ‘डेडिकेटेड फिडर’ र ‘ट्रंकलाईन’ महसुल विवाद समाधानको सन्दर्भलाई जोड्दै उनले फेसबुकमा लेखेका छन्, ‘जालझेलको अर्को नाम केपी ओली, ज्यानमारा, हत्यारा, गुण्डा नाइके, भ्रष्टहरुको बा ओली ! होसियार, खबरदार कुलमानलाई हटाए केपीका छाउरेहरुलाई पानीमुनी हामी छोड्ने छैनौं याद राख, ‘केपी ओलीलाई ‘बा’ भन्नेहरुलाई गाउँ अनि समाजदेखि नै सखाप पार्ने जिम्मा चाहिँ म आफैं लिन्छु ।’
एमाले अध्यक्ष प्रधानमन्त्री नियुक्त भएपछि घिसिङलाई अख्तियार देखाउँदै बहिर्गमन गराउन खोजेको उनको आरोप छ । लामाले १० वर्षे माओवादी जनयुद्धपछिको दोस्रो जनयुद्ध गरेर एक महिनामै केपीलाई बा भन्नेहरुलाई छानी छानी मार्ने धम्कीपूर्ण स्टाटस उनले लेखेका हुन् ।
प्रधानमन्त्री ओली र एमाले नेता कार्यकर्तालाई नरपिचासको संज्ञा दिइएको छ । उनको पटक पटकको स्टाटसपछि स्थानीय कार्यकर्ता त्रसित भएको जनाउँदै एमाले गजुरी गाउँपालिका कमिटीले दिएको उजुरीको आधारमा लामा पक्राउ परेका हुन् । प्रहरीको साइबर ब्यूरोले मुद्दा दर्ता गराएको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए ।
एमाले गजुरीले उनीमाथि कारबाहीको माग गरेको छ । काट्ने, मार्ने, धम्क्याउने शब्दावली प्रयोग गरेर एक महिनादेखि निरन्तर फेसबुक स्टाटस मार्फत् धम्की दिँदै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।
अभियुक्त लामा गजुरी गाउँपालिका–६ निवासी नेकपा माओवादी केन्द्रका कार्यकर्ता हुन् । २०८० भदौ १३ गतेदेखि गजुरी गाउँपालिकाको खेलकुद प्रशिक्षक पदमा कार्यरत छन् । गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको अंगरक्षकका रुपमा चिनिएका उनलाई खेलकुद प्रशिक्षककमा नियुक्त गरेर गाउँपालिका अध्यक्षले नै संरक्षण गरेको एमाले गजुरीका अध्यक्ष रामचन्द्र मिजारको भनाई छ ।
शक्तिको आडमा सामाजिक सञ्जाल मार्फत् एमालेविरुद्ध अफवाह फैलाउने र त्यसको प्रतिवाद गर्ने व्यक्तिलाई लामाले ज्यान मार्ने धम्की दिएर लामो समयदेखि आतंक मच्चाएको एमालेको भनाई छ । ‘लामाको व्यवहार गलत भएको बारेमा गाउँपालिकाका अध्यक्ष श्रेष्ठलाई पटक पटक भन्यौं । सचेत गरायौं । कारबाहीको सट्टा संरक्षण दिइरहनुभयो’, मिजारले भने, ‘कानूनी उपचारमा जान हामीलाई बाध्य बनायो ।’
टिप्पणीहरू