बाग्मतीका सारा नेतालाई मध्यराति प्रधानमन्त्रीको व्यंग्य

बाग्मतीका सारा नेतालाई मध्यराति प्रधानमन्त्रीको व्यंग्य

‘केही जरा र जग नभएकाहरू सामाजिक सञ्जालबाट व्यवस्थित हिसाबले हामीविरुद्ध लागेका छन् । तर, हामीले त्यसको योजनाबद्ध खण्डन गर्न सकेका छैनौँ’–प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार राति बालुवाटारमा यसरी कड्किनुभयो ।

यसअघि उपमहासचिव विष्णु रिमालले अध्यक्षको स्टाटसमा कम लाइक आएको गुनासो गरेकै शैलीमा चित्त दुखाउँदै भन्नुभयो– ‘यति ठूलो पार्टी छ, यत्रा कार्यकर्ता छन् तर, कसैले सकारात्मक कमेन्ट गर्दैन, सबै नकारात्मक कमेन्टमै रमाएका छन् !’ 

राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्ष्यित गर्दै ओलीले सामाजिक सञ्जालमार्फत पार्टी र सरकारको प्रतिरक्षा नगरेकोमा यसरी चित्त दुखाउनु भएको हो । केही मिडियासमेत एमालेविरुद्ध लागेकाले सम्पूर्ण शक्ति लगाएर त्यसको प्रतिवाद गर्नुपर्नेमा जोडसमेत दिनुभयो । ‘यथार्थ कुरा प्रचार गर्नुपर्छ । तपाईंहरू जनताका बीच पुग्नुपर्छ’, बागमती प्रदेशअन्तर्गतका केन्द्रीय सदस्य र १३ वटै जिल्ला इञ्चार्ज तथा अध्यक्ष सहभागी भेलामा उहाँको निर्देशन आयो । 

सामाजिक सञ्जालमा रवि लामिछानेहरूले आफूविरुद्ध गरेको प्रचारको कार्यकर्ता पंक्तिबाट खण्डन नभएकोमा रिसाउनुभएका ओली दुर्गा प्रसाईंमाथि पनि खनिनुभयो । आफ्नै जोडबलमा एमालेको केन्द्रीय सदस्य बनाइएका र हाल राजावादी अभियानमा लागेका प्रसाईंको नाम नलिई भन्नुभयो– ‘केही व्यक्ति जनता भड्काउन लागि परेका छन् । ऋण खाऊ, नतिर भन्दै हिँडेका छन् । त्यस्तो पनि हुन्छ ?’, ओलीको आक्रोश थियो– ‘अरुको चरित्रहत्या गर्न जे पनि बोल्ने । यस्ता तत्वहरूबाट बच्नुपर्छ । हामी त्यसविरुद्ध लड्नु पर्नेछ, राजनीतिक नियुक्तिको आश गरेर बस्ने होइन, अनेमसंघको सदस्यता १० लाख पुर्‍याउनुपर्छ ।’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कार्यक्रम नगर्ने आफ्नै प्रतिवद्धताविपरीत आयोजित उक्त भेलामा ५० जनाजति नेता सहभागी थिए । भर्खरै मनोनित इञ्चार्ज डा. राजन भट्टराईले सात बजेका लागि खबर गरेअनुसार बोलाएकै समयमा बालुवाटार पुगेका नेताहरू अध्यक्ष तथा प्रधानमन्त्री बेलैमा नआएपछि साढे दुई घण्टा रोकिए । साढे ९ बजेतिर बल्ल आइपुग्नुभएका ओलीले एक घण्टा लामो धारावाहिक प्रवचन सुनाउँदै बागमती प्रदेशमा पार्टीको अवस्था, संविधान संशोधन, पार्टीभित्रको अन्तरसंघर्ष र समग्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको ब्याख्या गर्नुभयो । त्यसैक्रममा उहाँ पार्टीविरुद्ध सामाजिक सञ्जाल र मिडियामा चलाइएका भ्रम चिर्न नसकेकोमा पार्टीपंक्तिप्रति यसरी आक्रोशित हुनुभएको हो । 

अध्यक्ष ओलीले पार्टीभित्र अन्तरसंघर्ष स्वीकार्य नहुने चेतावनी पनि दिनुभएको छ । माधव नेपाल नआएपछि दश बुँदे पक्षधर नरहेको र पूर्वमाओवादी भनिरहन पनि जरुरी नरहेको धारणा राख्दै उहाँले पार्टीभित्र आन्तरिक संघर्ष हैन एकता मात्र हुने प्रष्ट पार्नुभयो । ‘कसै कसैले भनेको सुन्छु– ‘पार्टी छोड्ने हैन, यहीँ संघर्ष गर्ने हो !’, दश भाइ समूहका केही नेतालाई कटाक्ष गर्दै भन्नुभयो– ‘त्यो आन्तरिक संघर्ष भनेको के हो ? खुरुखुरु काम गर्नु छैन !’ अन्तरसंघर्षकै सिलसिला जोड्दै उहाँले गत निर्वाचनमा बागमती प्रदेशमा पार्टी पराजित भएकोमा आक्रोश पनि जनाउनुभयो । ‘बागमतिमा हाम्रो कति आयो रे ? ३३ सिटमा जम्मा चार जितेको हैन ? कठैबरा !’–ओलीले भन्नुभयो– ‘राजधानी भएको प्रदेशमा महानगर हारियो, काठमाडौँ हारियो, सहेर बस्नुहुन्न, यो स्थिति बदल्नुपर्छ । आगामी चुनावमा उत्साहजनक नतिजा ल्याएर फरक पार्नुपर्छ ।’

पार्टीका हरेकजसो बैठकमा विदेशी शक्ति केन्द्रबारे धेरथोर बोल्ने गर्नुभएका ओलीले जिल्ला तहका नेताहरू सहभागी उक्त भेलामा यो कुरा पनि छुटाउनु भएन । कुनै देश विशेषको नाम नलिई सबैसँग समदूरीमा रहेर सरकारले काम गर्ने बताउनुभयो, र भन्नुभयो– ‘हामी कोहीसँग लाप्पा खेल्दैनौँ, शक्ति राष्ट्र पनि हैनौँ । सबैसंग सहयोग लिएर विकास गर्नुपर्नेछ !’ नेपालको वामपन्थी आन्दोलन अप्ठेरोमा रहेको संकेत गर्दै ओलीले विश्वव्यापीरुपमा प्रगतिशील विचार संकटमा परेको धारणा पनि राख्नुभयो । 

ओलीले जातीय राजनीति एमालेभित्र नचल्ने आफ्नो बटमलाइन पनि जिल्लाका नेताहरूलाई प्रष्ट सुनाउनुभएको छ । निर्देशनात्मक शैलीमा भन्नुभयो– ‘एमाले भनेको एमाले हो, जनजाति हैन !’ जात–जातका नाममा जनता लडाउने प्रयास भैरहेको दाबी गर्दै उहाँले एमालेमा जातीय कुराले अनमेल हुन नहुनेमा जोड दिनुभयो । ‘अनेकौँ गोत्र र जात होला, त्यो हाम्रो सम्पत्ति हो, तर जात र भूगोलका कुरा उठाउनुहुन्न’, पहिचानको आन्दोलन लक्ष्यित ओलीको तर्क छ। त्यसैमा जोडेर संविधान संशोधनको कुरा निकाल्नुभएका उहाँले भन्नुभयो, ‘देशलाई अझै एकतावद्ध गराउन र बलियो बनाउन संविधान संशोधन हुन्छ ।’ तीन घण्टा कुराएर एक घण्टाको प्रवचनपछि मध्यराति बालुवाटारबाट नेताहरूलाई भोकभोकै बिदाइ गर्दै ओलीले भन्नुभयो– ‘म फुर्सदमा थिइन, यो कार्यक्रम छ भन्ने पनि थाहा थिएन । तर, ठीकै भयो !’

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू