भाञ्जालाई जोगाउन दबाब भयंकर

भाञ्जालाई जोगाउन दबाब भयंकर

भाषणमा बिहानैदेखि साँझसम्म सदाचार, नियम र मापदण्डका कुरा गरिरहने तर रात परेपछि अयोग्य आफन्तलाई काखी च्यापेर अरूलाई घोक्रेठ्याक लगाउने घातक प्रवृत्ति बालुवाटारमा हावी भएको छ ।

दाङस्थित नेपाल संस्कृत विश्वविद्यालय (ने.सं.वि.)का  उपकुलपति प्राध्यापक डाक्टर यादवप्रकाश लामिछानेलाई निकालावास लगाएर कारबाहीमा परेका एमाले महासचिव शंकर पोखरेलका भाञ्जालाई स्थापित गर्ने कामको नेतृत्व प्रधानमन्त्री ओली स्वयंले गर्नुभएको छ । पोखरेलका भाञ्जा माधव अधिकारी सो विविका कुलसचिव थिए । 

माधवका गलत कार्यप्रति प्रश्न उठाउँदै विवि प्रशासनले असार १४ गते पाँच बुँदे स्पष्टिकरण सोध्यो । नेसंवि सेवा शर्तसम्बन्धी नियम २०६७विपरीत कार्य गरेकाले  प्रष्टिकरण सोधेकोमा उल्टै उनले विवि कार्यकारी परिषदको बैठकमै शिक्षाध्यक्षमाथि हातपात र अभद्र व्यवहार गरे । माधवलाई असार २३ गते फेरि अर्को स्पष्टिकरण सोधियो । २५ गते दिएको प्रष्टिकरण चित्तबुझ्दो नभएको र आक्षेपपूर्ण रहेको भन्दै प्रशासनले उनलाई २६ गतेदेखि निलम्बनको निर्णय गर्‍यो। 
माधवको निलम्बनलगत्तै उपकुलपति यादवलाई प्रधानमन्त्री केपी ओलीलाई भेट्न जानु भनियो । उनी स्वयं पनि केपी ओलीले नै नियुक्त गरेका मानिस हुन् । तर, भेट्न गएनन् । शंकर पोखरेलले शिक्षामन्त्रीलाई भनाएर यादवलाई बालुवाटार पठाए । साउन २६ गते राति १२ बजे यादव र प्रमबीच वार्ता भयो । यादवले विविमा आफूले गर्दै आएका सुधारका काम र अड्चनको बेलिविस्तार लगाए ।

प्रमले पोखरेललाई फोन गरी के छ तपाईंको जिल्लाको विश्वविद्यालयको खबर ? भनेर सोध्नुभयो । पोखरेलले भाञ्जामाथिको कारवाहीको निर्णय फिर्ता लिइदिनुपर्‍यो भन्दा यादवले सोझै इन्कार गरे । त्यसपछि प्रमले फकाउने शैलीमा सम्भावित नियुक्ति वा जान चाहेको ठाउँ भन्नुस् भन्नुभयो । बरु मै राजीनामा दिन्छु, अनि तपाईंहरूलाई जे गर्न पनि सजिलो भइहाल्छ भनिदिए । प्रमले ‘म तपाईको राजीनामा स्वीकृत गर्दिन’ भन्नुभयो । 

भोलिपल्ट फेरि बालुवाटारमा भेटघाटको प्रबन्ध मिलाइयो । यतिबेला चाहिं शंकर पोखरेल पनि त्यहीं थिए । फेरि उही कारबाही फिर्ताको कुरा आयो । प्रमले विविमा अहिले नेकाको दब्दबा रहेछ, यस्तो अवस्थामा महासचिवको भाञ्जा नै पर्ने भएकाले माहोल थप बिग्रने देखियो, राजनीतिक रूपले बुझिदिनुपर्‍यो भन्नुभयो । यादवले तपाईंलाई महासचिव र गुरु बरालको दबाव पर्‍यो, कि मलाई कारवाही गर्नुस् कि मेरो निर्णयलाई नउल्ट्याउनुस् भन्दा प्रमले तपाईंले गरेको कारवाहीको निर्णयचाहिँ उल्टाउनुपर्‍यो भन्नुभयो । जति कुरा राखेपनि केही नहुने अवस्था बुझेपछि यादव राजीनामा बुझाएर हिँडे । अहिले यादवको राजीनामा स्वीकृत गरिएको छ । 

अब के हुन्छ 

त्यहाँ हालै एमाले उपाध्यक्ष बनाइएका र पूर्व शिक्षा विभाग प्रमुख गुरु बरालनिकट प्राडा भीम खतिवडा कूलसचिव छन् । यिनै भीमलाई बैठक बसिरहेकै बेला माधव आचार्यले हातपात गरेका थिए । अब उनलाई तीन महिनाका लागि निमित्त उपकुलपति दिन सक्ने श्रोतको दाबी छ । हुनतः शंकर पोखरेलनिकट नेपालगञ्ज बहुमुखी क्याम्पसका प्राडा वेदराज केसी पनि इच्छुक रहेको बुझिएको छ । फिजिक्सका शिक्षक उनी दाङ नारायणपुरका बासिन्दा हुन् । यसअघि पनि पश्चिम विवि सुर्खेतका भिसीका लागि निवेदन हालेका थिए । त्यहाँ पनि शंकरकै आफन्त पर्ने प्राडा ध्रुव गौतम थिए र उनैलाई उपकुलपति बनाइछाडे । त्यतिबेला वेदराजलाई व्याक गराइएको र अहिले उनैलाई बनाउन शंकरले फेरि बल लगाउने देखिन्छ । 

टिप्पणीहरू