काँग्रेस–एमाले मिलेपछि भारत दंग !

काँग्रेस–एमाले मिलेपछि भारत दंग !

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संसदका दुई ठूला दल मिलेर सरकार बनाएकोमा छिमेकी देश भारत प्रसन्न रहेको बताउनुभएको छ । आफ्नो भारत भ्रमणबारे पार्टी बैठकमा ब्रिफिङ गर्दै मन्त्री राणाले त्यस्तो जानकारी दिनुभएको बताइएको छ । 

नेपाली काँग्रेसको केन्द्रीय सदस्य आरजूले भारत भ्रमणको क्रममा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएको र त्यसक्रममा काँग्रेस–एमाले मिलनमा भारत सकारात्मक रहेको महशुस भएको जानकारी दिनुभयो । 

एमाले–माओवादी गठबन्धन सरकारलाई विस्थापित गरेर कांग्रेस–एमाले गठबन्धन निर्माणको सूत्रधारसमेत रहनुभएको ठानिएकी आरजूले केन्द्रीय समिति बैठकमा भन्नुभयो, ‘दुई ठूला पार्टी मिलेर सरकार बनाएकोमा कस्तो रेस्पोन्स हुन्छ भन्ने थियो, यसमा राम्रो भएको जानकारी गराउँछु !’ 

यसअघि काँग्रेस र एमाले मिलेर गठबन्धन बनाएकोमा दक्षिणको छिमेकी सन्तुष्ट नरहेको चर्चा थियो । कतिपयले अहिलेको गठबन्धनलाई पश्चिमा शक्तिबाट प्रेरित रहेको दाबी समेत गरेका छन् । उक्त पृष्ठभूमिमा आरजूले भने भारतीयहरु खुशी रहेको पार्टीलाई रिपोर्टिङ्ग गर्नुभएको छ ।

पाँच दिने भ्रमण सकेर हिजो नेपाल फर्किएपछि आरजूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न भ्रमण महत्वपूर्ण रहेको बताउनुभएको थियो ।

टिप्पणीहरू