आयोगमाथि देखावटीकाे आराेप

आयोगमाथि देखावटीकाे आराेप

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा संलग्नहरुसँग राष्ट्रिय मानव अधिकार आयोगले धमाधम बयान लिइरहेको छ । सदस्य लिली थापाको नेतृत्वमा गठित छानबिन समितिले हालसम्म दर्जन बढीसँग बयान लिइसकेको छ ।

आयोगले विशेषतः जेनजी आन्दोलनमा भएको मानव अधिकार हनन, प्रहरीद्धारा बल प्रयोग, पारदर्शिता, जवाफदेहिता र दण्डहीनतालगायतका विषयलाई प्रमुख आधार बनाएर छानबिन गरिरहेको छ । हालसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह, जेनजीका लिडर सुधन गुरुङ्गलगायतको बयान सकिएको छ । 

जेनजी आन्दोलनकारी र घाइतेहरुको पनि बयान भइसकेको छ । त्यसै क्रममा आयोगले हिजो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिएको छ । लामिछानेले हिजो आयोगमै पुगेर बयान दिएका हुन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग लागेका रवि जेनजी प्रदर्शन हुँदा नख्खु कारागारमा थिए । उनले जेलभित्रबाटै प्रदर्शनमा एक्यबद्धता जनाएका थिए । आज आयोगमा नख्खु कारागारका तत्कालीन जेलर सत्यराज जोशीको बयान चलिरहेको छ । 

भदौ २४ गते भीडको आडमा जेलबाट निस्किएका रविले आफूलाई जेलरले जबरजस्ती थुनामुक्त गरेको दाबी गर्दै आएका छन् । उनले जेलरले दिएको भनि एउटा पत्र पनि सार्वजनिक गरेका छन् । । पत्रमा लेखिएको छ,‘देशमा अमनचयन कायम गर्न न्यायको प्रत्याभूति आवश्यक भएकोले गोरखा मिडियासँग सम्बन्धित विषयलाई सहकारीसँग जोडेर गरिएको राजनीतिक मुद्दामा हाल थुनामा रहनुभएका मा.रवि लामिछानेलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ ।’

सो पत्रमा प्रयोग गरिएका शब्दहरु शंकास्पद छन् । अर्को रोचक कुरा के भने, सो दिन जेलर जोशी कारागारमा थिएनन् । भदौ २३ को घटनाका कारण कर्मचारीहरु कारागार आएका थिएनन् । कारागार स्रोतले रविलाई जेलरले नभई भीडले निकालेको पुष्टि गरिसकेको छ । तर, रविले सो पत्र उनैले दिएको रटान लगाइरहेका छन् । 

रवि जेलबाट निस्किएपछि मुलुकभरको २८ वटा कारागारबाट साढे १४ हजार कैदीबन्दी फरार भएका छन् । अहिलेपनि साढे चार हजार जेलबाहिरै छन् । भाग्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर पाँच जना कैदीबन्दीको निधन भएको छ । यता, बालसुधार गृहमा झडप हुँदा पाँच जना बालबिज्याइँकर्ताको ज्यान गएको छ । 

एउटा अभियुक्त जेलबाट निस्किदाँ भएको क्षतिबारे सोधखोज गर्ने कि नगर्ने ? रविले देखाइरहेको पत्रको सत्यतथ्य छुट्याउने कि त्यत्तिकै छोडिदिने ? आयोगसमक्ष गम्भीर प्रश्न उठेको छ ।

टिप्पणीहरू