गौरा मनाउन परराष्ट्रमन्त्री धनगढीमा, माओवादी अध्यक्ष पनि सोही उडानमा
परराष्ट्रमन्त्री डा.आरजू राणा देउवा धनगढी जानुभएको छ । उहाँ बुद्ध एअरको उडान नम्बर बीएचए २५१ मा बिहान ९ बजे काठमाडौंबाट प्रस्थान गर्नुभएको बताइएको छ । छ सदस्यीय टोलीसहित जानुभएका मन्त्रीले धनगढीस्थित निजी निवासमा गौरा पर्व मनाउने बुझिएको छ ।
सोही उडानमा माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि धनगढी जानुभएको छ । उहाँ माओवादीका १६ जना नेतासहित त्यता जानुभएको हो । सहभागी हुन गएको टोलीमा उपाध्यक्षद्वय अग्नीप्रसाद सापकोटा र नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा छन् । नेताहरु शक्तिबहादुर बस्नेत, पम्फा भुषाललगायत अध्यक्षको टोलीमा रहेको बताइएको छ ।
माओवादीले स्थानीय स्वास्थ तालिम केन्द्रमा सुदूरपश्चिम प्रदेशस्तरीय परामर्श तथा प्रशिक्षण कार्यक्रम राखिएको छ । उक्त कार्यक्रममा सहभागी भएपछि टोलीलाई राति नेपाल राष्ट्र बैंकको गेष्ट हाउसमा बस्ने व्यवस्था मिलाइएको छ ।
उक्त कार्यक्रममा सहभागी हुन उपमहासचिव वर्षमान पुन र पूर्वमन्त्री बिनामगरसहितको नौ सदस्यीय माओवादी टोली अर्को उडानमा धनगढी गएको छ । टोली श्री एअरलाइन्सको उडानमा बिहान सवा ९ बजे काठमाडौंबाट प्रस्थान गरेको हो ।
टिप्पणीहरू