मन्त्री हुँदा कालो चिया मात्रै खाएँ भन्छन् कुलमान
ऊर्जा,जलस्रोत तथा सिन्चाइ र शहरी विकासमन्त्री कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाउँदै आफूले तीन महिना १५ दिनमा मन्त्रालयको कालो चिया मात्रै खाएको बताएका छन् । राति बालुवाटार पुगेर राजीनामा दिएका उनले मन्त्रालय पुगेर राति नै पत्रकार सम्मेलन गरेका छन् ।
पहिले उज्यालो नेपाल पार्टीमा संरक्षक र अहिले रविको रास्वपामा उपसभापति बनेपछि कुलमानमाथि राजीनामाको दबाब बढेको थियो । हिजो क्याबिनेट बैठककै वीक्य प्रधानमन्त्री कार्कीले कुलमान,सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्तालाई रविको घण्टी पार्टीमा आबद्धता जनाएको जनाउँदै राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाउनुभएको थियो ।
हिजो दिउँसोसम्म आफू कुनै पार्टीमा सदस्य नरहेको बताएका उनले आज साँझ भने हठात राजीनामा दिएका हुन् । राजीनामा बुझाउने क्रममा प्रधानमन्त्री कार्कीसँग भएको भेटमा उनले भने, ‘तीन महिना १५ दिन मन्त्री भएँ । यसबीचमा राम्रोसँग सुत्न पनि पाइएन । दिउँसो मन्त्रालयमा कालो चियाबाहेक केही खाइन ।’
‘तीन महिना १५ दिन मन्त्री भएँ । यसबीचमा राम्रोसँग सुत्न पनि पाइएन । दिउँसो मन्त्रालयमा कालो चियाबाहेक केही खाइन ।’
जेन जीका ४२ जना सहिदमध्ये हरेक परिवारका एक जनालाई पायक पर्ने ठाउँमा रोजगारीको सुनिश्चितता गरिदिएको उनको भनाइ छ । अन्त्यमा उनले भने, ‘म आभारी छु मन्त्री बन्ने अवसर दिनुभएकोमा ।’
राजीनामा बुझ्ने क्रममा प्रधानमन्त्रीले कुलमानले भन्दा बढी समय बोल्दै भन्नुभयो, ‘तपाइँलाई मन्त्रीमा जेन जीले ल्याएका हुन् । तपाइँको खटाइलाई सबैले सम्झने छौं । तपाइँ कामबाटै सिद्ध भएको मान्छे । नेपाललाई उज्यालो पार्न ठूलो मेहनत गर्नुभयो । यो स्पिरिट कायम गर्नुस् । देशलाई अझ धेरै गर्न बाँकी छ । अहिलेलाई बधाई ।’

टिप्पणीहरू