तीनथरीबीच भएको एकता, ‘भय’ को एकता

तीनथरीबीच भएको एकता, ‘भय’ को एकता

अघिल्लो दिनसम्म तीनतिर फर्किएका रवि लामिछाने, बालेन साह र कुलमान घिसिङलाई रातारात एकै ठाउँमा जोड्ने तत्व के होला ? एउटा दापमा दुइटा खुकुरी अट्दैन भनेझैँ फरक स्वभाव, कार्यशैली र भिन्न बाटोमा हिँडेकाहरूको हठात् मिलन कसरी सम्भव भयो ? रास्वपा, उज्यालो नेपाल र बालेन समूहबीचको गठजोडले सामाजिक सञ्जालतिर राम्रै चर्चा कमाए पनि राजनीतिक वृत्तमा भने यी र यस्ता प्रश्न उठिरहेका छन् । 

तीब्र महत्वाकांक्षा बोकेर एकाएक राजनीतिमा उदाएका पात्र हुन्– रवि, बालेन र कुलमान । व्यक्तिगत स्वभाव, कार्यशैली र चिन्तनका हिसाबले यिनीहरूबीच आकाश–जमिनको फरक छ । अड्डी नछोड्ने तीन भाइको साझा स्वभाव हो । आफूलाई जेनजीको असली प्रतिनिधित्वकर्ताका रूपमा उभ्याउन खोजेका तीनै जना निस्कलंक छैनन् । यसका बाबजुद उनीहरूको मिलन राष्ट्रिय राजनीतिको आवश्यकता कि व्यक्तिको सङ्कट टार्ने प्रयास ? समय क्रममा सबै खुल्दै जाला । तर, तीनै जनाको पृष्ठभूमि र भदौ २४ यताका घटनाक्रमलाई एक ठाउँमा राखेर विश्लेषण गर्दा पदीय भागबण्डालाई केन्द्रमा राखेर गरिएको एकतालाई व्यक्तिगत महत्वाकांक्षा व्यवस्थापनको प्रयास हो भन्न सकिन्छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा खेपिरहेका पात्र हुन् रवि । अमेरिकी नागरिकता खल्तीमा राखेर अघिल्लोचोटि चुनाव लडेका उनी विवादको पर्यायजस्तै बनिसकेका छन् ।

उनीविरुद्ध राहदानी दुरूपयोगको मुद्दा पनि अदालतमा विचाराधीन छ । देशको राजधानी शहर काठमाडौँको मेयर जितेर एकाएक चर्चामा आएका अर्का महत्वाकांक्षी पात्र बालेन पनि विवादमुक्त छैनन् । मेयरको हैसियतमा उनले गरेका कतिपय निर्णयविरुद्ध अख्तियारमा उजुरी छ । श्रीमती चढेको गाडी रोकेर ट्राफिकले चेक गरेको भन्दै सिंहदरबार जलाइदिने धम्की दिएका उनीमाथि भदौ २४ गते विध्वंशकारीलाई उकासेको आरोप छँदैछ । 

दुई कार्यकाल विद्युत् प्राधिकरणको एमडी भएका कुलमान झन् धेरै विवादमा मुछिएका पात्र हुन् । भारतसँगको विद्युत व्यापार सम्झौतादेखि सरकारी सामाग्री खरिदमा अनियमितता गरेको भन्दै उनीविरुद्ध अख्तियारमा मुद्दा छ । मन्त्री हुनुअगाडि अख्तियारले बयानसमेत लिइसकेको छ । गत महिना लुम्बिनी विकास कोषको सदस्य–सचिव नियुक्त भएका खानेपानी इञ्जिनियर दीपक श्रेष्ठले अख्तियारमा हुँदा उनलाई केरकार गरेका थिए । आफूलाई केरकार गर्ने मान्छेलाई कोषको सदस्य–सचिव नियुक्त गरेको भन्दै कुलमान क्याबिनेट बैठकमै  प्रधानमन्त्री सुशीला कार्कीसँग रिसाए पनि । 

हालै राष्ट्रपति निवासमा प्रधानमन्त्री कार्कीसँग भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुलमानबारे प्रश्न उठाएका थिए । जाँचबुझ आयोगमा बयान दिन जाने सन्दर्भ उठ्दा उनले भारतसँग विद्युत व्यापार सम्झौता गर्दा ४२ करोड फरक पारेको विषयमा को जिम्मेवार हुने ? भन्दै कुरा उठाएका हुन् । यसअघि ओली प्रधानमन्त्री हुँदा अख्तियार प्रमुख प्रेमकुमार राईलाई कुलमानको मुद्दा अघि बढाउन दबाब दिएको विषय पनि लुकेको छैन । ’सरकारले राम्रोसङ्ग हेर्ने हो भने कुलमान सुरक्षित छैनन्’, अख्तियार सम्बद्ध स्रोत भन्छ, ‘निष्पक्ष हुने हो भने उनलाई लागेको जस्तै केश लागेका सयौंविरुद्ध मुद्दा चलिसकेको छ ।’

यसरी मुद्दै–मुद्दाको भारी बोकेर प्रधानमन्त्री बन्ने दौडमा रहेका र बन्द कोठामा उधारो सहमति गरेका रवि, बालेन र कुलमानमाथि भदौ २४ गतेको महाविध्वंशमा पर्दा पछाडिबाट भूमिका खेलेको आरोप छ । यिनीहरूलाई मिलाइदिने सुधन गुरुङ अर्का विवादास्पद पात्र हुन् । भदौ २३ को प्रदर्शनमा पानी बाँड्ने भूमिकाबाट एकाएक जेनजी अगुवा बनेर उदाएका ३७ वर्षे यिनी पश्चिमाहरूबाट सञ्चालित एनजिओमा अध्यक्ष छन् । गैरराजनीतिक चरित्रका सुधनको सम्पर्क–सम्बन्ध कहाँ–कहाँ छ भन्ने कुरा खुलिसकेकै छ ।

त्यसकारण फागुन २१ को निर्वाचनपछि कांग्रेस–एमाले नै सत्तामा फर्किए भने यिनीहरू सुरक्षित हुने छैनन् । आफ्नै अगाडि घर डढाएको र कुटाइ खानुपरेको पीडा सायदै ओली र शेरबहादुर देउवाले बिर्सनेछन् । त्यसकारण पनि रवि लामिछानेको जस्तै भोगाई भोग्नुपर्ने त्रास र भयका कारण सुधनको जबर्जस्तीमा रवि, बालेन र कुलमान मिल्न बाध्य भएको भन्नेहरू राजनीतिक बजारमा क्रमशः खुल्न थालेका छन् । 

‘यो डरै डरको संयोजन हो’, तीन जनाको मेलमिलापलाई विश्लेषण गर्दै एक नेता भन्छन्, ‘सुधन गुरुङको आतुरता हेर्दा पनि आफूमाथि लागेका आरोप र सम्भावित चुनौतीलाई पन्छाउन पार्टी एकताको नाममा राजनीतिलाई सुरक्षाकवच बनाउन खोजेको बुझिन्छ ।’ शुरुमा आन्दोलनको स्टेक होल्डर भनी नेपाली सेनाद्वारा जंगीअड्डामा स्वागत गरिएका दुर्गा प्रसाईंले खुल्लमखुला भनेकै हुन्– यी तीनै जना २४ गतेको विध्वंश पछाडिका भित्री डिजाइनर हुन् । प्रसाईंले कुनै सूत्रबाट सूचना पाएर भनेका थिए वा हचुवामा ? आफैँ जानुन् तर उनले भनेको कुरा ठ्याक्कै मिल्नु संयोग मात्र मान्न सकिंदैन । 

यसको पुष्टि कसरी पनि हुन्छ भने सुधनले रवि जेलबाट निस्केकै दिन सहकार्यको घोषणा गरेका थिए । त्यसपछि निकै दौडधुप गरेका उनैले रवि र बालेनलाई एक ठाउँमा जुटाए । मिल्नै नचाहेका कुलमानलाई जबर्जस्ती मिलाउने काम पनि उनैले गरे । रास्वपासँग बालेन र कुलमानले गरेको छुट्टाछुट्टै सम्झौताको अन्तरवस्तु र एक–एक बुँदा हेर्दा पनि सुधनकै चित्र देखिन्छ । किनभने त्यहाँ विचार, सिद्धान्त र कार्यक्रमले होइन पद बाँडफाँटको विषयले प्राथमिकता पाएको छ । जबकि राजनीतिक दलहरूबीच निश्चित सैद्धान्तिक–वैचारिक मुद्दामा आधारित एकता हुन्छ । संसारभरका पार्टीको स्थापना र त्यसको विकासक्रम हर्दा दल आफैँमा पदीय व्यवस्थापनको थलो नभई विचार संयोजनको माध्यम हो । तर, रवि–बालेन–कुलमानको एकतामा भने पदीय भागबण्डाबाहेक केही देखिंदैन । 

‘विभाजित भएर चुनावमा जाँदा फेरि कांग्रेस, एमाले र माओवादी नै आउने भए । त्यसपछि बन्ने सरकारले छोड्नेवाला छैन । किनभने भदौ २४ को घटनामा मतियार को–को हुन् खुलेकै छ’, एक स्वतन्त्र विश्लेषक टिप्पणी गर्छन्, ‘भोलि आफू सुरक्षित हुन सकिन्छ कि भन्ने मृगतृष्णा त हुँदै हो संगसंगै हामी एक छौँ भन्ने सन्देश दिएर भोट बटुल्ने रणनीतिले पनि यसमा काम गरेको देखिन्छ ।’ रवि, बालेन र कुलमानलाई एकातिर यो डर छ भने ओली र देउवा पनि आफू निकटहरू भ्रष्टाचारमा तानिने हुन् कि भन्ने त्रासमा छन् । त्यसकारण कांग्रेस र एमालेले पनि चुनावी गठवन्धन गरे भने आश्चर्य नमाने हुन्छ भन्छन् उनै राजनीतिक विश्लेषक ।

(जनआस्था साप्ताहिकको पुस १६ गते बुधबारको अंकमा प्रकाशित)   

टिप्पणीहरू