एकीकृत समाजवादीको निर्वाचनमा काे विजयी, काे पराजित ?
नेकपा एकीकृत समाजवादीको हिजोको मतदानपछि १७ जना पदाधिकारी चयन भएका छन् । मतदानबाट उपाध्यक्ष, उपमहासचिव र सचिवको टुंगो लागेको छ । महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छन् । राईले प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् ।
खुला उपाध्यक्ष चार पदमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् । मधेसी समुदायको उपाध्यक्षमा धर्मनाथप्रसाद साह र चार वटा उपमहासचिव पदमा रामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह र राजेन्द्रकुमार राई चुनिएका छन् ।
सचिव (दलित समुदाय) मा गणेशबहादुर विश्वकर्मा, सचिव (आदिवासी जनजाती) मा बलदेव चौधरी, सचिव खुला पाँच पदमा श्रीनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, सावित्राकुमारी भुसाल विजयी भएको घोषणा गरिएको छ ।
असारमा भएको दशौँ महाधिवेशनको हलले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई चयन गरेको थियो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे हिजो निर्विरोध भएका हुन् ।
उपाध्यक्षमा उम्मेदवार रहेकामध्ये ललितबहादुर बस्नेत, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, डा. विजय पौडेल, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, बलराम बाँस्कोटा पराजित भएका हुन् । उपमहासचिवमा जीवनराम श्रेष्ठ, नागेन्द्रप्रसाद चौधरी, रामचन्द्र यादव, महेश रेग्मी, लक्ष्मण केसी, गोमा विष्ट, भवानी खड्कालगायत पराजित भएको जनाइएको छ ।
त्यसैगरी खुल्ला सचिवका लागि भएको प्रतिस्पर्धामा प्रेमलकुमार खनाल, कृष्णप्रसाद शर्मा खनाल, घनप्रसाद गौतम, दामोदर अर्याल, दीर्घबहादुर सोडारी, धनराज आचार्य, गुरुप्रसाद बुर्लाकोटी, धर्मराज पौडेल, डा. वंशीधर मिश्र, धर्मराज निरौला, डा. राजेन्द्रमान श्रेष्ठलगायत पराजित भएका छन् ।
टिप्पणीहरू