टुँडिखेलमा मुर्दावादको नारा लगाएकामाथि सोधपुछ गरिएकोमा रास्वपाको आपत्ति

सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले कमिलाजस्तै सरकारको प्वाँख पलाउन थालेको बताएका छन् । उनले गौरा पर्वको अवसरमा सोमबार टुँडिखेलमा आयोजित कार्यक्रम बिथोलेको आरोपमा पक्राउ परेका दुई जनाको रिहाइको माग गरेका छन् । 

युवाहरुले उक्त कार्यक्रममा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले चर्का नारा लगाएका थिए । नाराबाजी गरेको आरोपमा प्रहरीले हिजो साँझ दुई जना युवालाई नियन्त्रणमा लिएपछि ढकालले प्रतिनिधिसभाको आजको बैठकमा उक्त धारणा राखेका हुन् ।

लोकतान्त्रिक व्यवस्थामा सरकारको विरोध गरेकै कारण युवाहरुलाई पक्राउ गरिएकोमा उनले आक्रोश व्यक्त गरेका छन् ।  ‘टुँडिखेलमा युवाहरुले विरोधभाषण गरेका हुन्, मात्र विरोधभाषण’, उल्लेख गर्दै उनले भने, ‘तर यसलाई अराजक शैलीको बाहना लगाएर भिडियो फुटेजहरु स्क्रीनसट गरी गरी ती युवाहरुलाई पक्राउ गरेर हिरासतमा राखिनु बिल्कुल गलत हो ।’

सांसद ढकालले उड्ने बेलामा कमिलाको प्वाँख पलाउने गरेको उदाहरण दिँदै वर्तमान सरकारको पनि प्वाँख पलाउन थालेको बताए । ‘कमिला उड्ने बेलामा प्वाँख पलाउँछ । सरकारको यो रवैयाले कमिलाको प्वाँख पलाएको जस्तो भएको छ’, उनले भने ।

परराष्ट्रमन्त्री डा. आरजू राणाविरुद्ध स्टाटस लेखेकै कारण दुई जनालाई पक्राउ गरिएको विषयमा पनि आपत्ति जनाएका छन् । प्रहरीले हिजो बिहान धनगढीका प्रतिक जोशी र रचित शाहलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको उनले उल्लेख गरे । 

सांसद ढकालले सरकारलाई युवाहरुको विरोध सुन्न सक्ने धैर्यताको विकास गर्न आग्रह गरेका छन् । ‘राज्यले सुन्नसक्ने धैर्यता राख्न सक्नुपर्छ, स्वदेशमा रोजगार र अवसरबाट वञ्चित गराइएका ती युवाले सिँहदरबारका बेइमानहरुलाई खबरदारी गर्दा यसरी समाउन पाईंदैन’, उनले थपे ।

टिप्पणीहरू