हिम्मत भए मंसिरको आफ्नो कार्यक्रम रोकेर देखाउन सरकारलाई दुर्गा प्रसाईंको चुनौती

हिम्मत भए मंसिरको आफ्नो कार्यक्रम रोकेर देखाउन सरकारलाई दुर्गा प्रसाईंको चुनौती
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रममा नाराबाजी गरेका युवालाई गिरफ्तार गरेकोमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आपत्ति जनाएका छन् । 

गणतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित गर्दै ओली नेतृत्वको सरकारले नागरिकमाथि धरपकड गरेको उनको आरोप छ । ‘नागरिक बचाऊ महाअभियान’ का संयोजकसमेत रहेका प्रसाईंले हिम्मत भए आफूलाई पक्राउ गर्न सरकारलाई चुनौतीसमेत दिए । 

सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्वको अवसरमा अस्ति सोमबार टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा केही युवाहरुले ओली र देउवाविरुद्ध नारा लगाएका थिए । उनीहरुले ‘केपी चोर, देश छोड’, ‘देउवा मूर्दावाद’ जस्ता नारा लगाएपछि कार्यक्रममै देउवाले हप्कीदप्की गरेका थिए । 

कार्यक्रम बिथोलेको आरोपमा काठमाडौँ प्रहरी परिसरले दुई युवकलाई नियन्त्रणमा लिएको छ । त्यसप्रति असन्तुष्टि जनाउँदै प्रसाईंले भनेका छन्, ‘देश कंगाल बनाउने छोटे राजहरुको दमनबिरुद्ध नागरिकले आफ्नो पीडालाइ बुलन्द गर्दा भएको धरपकडबिरुद्ध हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रसाईंले मंसिर ७ गते आफूले घोषणा गरेको कार्यक्रम रोकेर देखाउन पनि सरकारलाई चेतावनी दिएका छन् । 

‘देशको व्यवस्था र अवस्थाबाट आजित निरीह नागरिकहरुलाई धरपकड हैन तागत भए व्यवस्था परिवर्तनको लागि नागरिक बचाउ महाअभियानले आगामी मंसिर ७ गतेबाट देशव्यापीरुपमा गर्ने भनि घोषणा गरेको विशाल नागरिक जनबिद्रोहलाई रोकेर देखाउन छोटे राजाहरुलाई अभियानको तर्फबाट खुल्ला चेतावनीसमेत दिन चाहान्छौँ’, उनले फेसबुकमा लेखेका छन् ।  

प्रसाईंले पञ्चायती व्यवस्थामा पढ्न, लेख्न, बोल्न र राजाहरुको विरोधमा आवाज बुलन्द गर्दा नागरिकमाथि भएको दमनबाट मुक्ति दिलाउन १७ हजार जनताको रगतमा होली खेलेर ल्याएको गणतन्त्रको सुन्दर पक्ष अभिब्यक्ति स्वतन्त्रता हो पनि भनेका छन् ।

टिप्पणीहरू