प्रधानमन्त्री नांगो हुनुभएको पूर्वमन्त्रीको आरोप

सुन्नुहोस्

नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व पर्यटनमन्त्री सुदन किरातीले प्रधानमन्त्री नांगो हुनुभएको सांकेतिक आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले हजारौं युवाले नांगो भनेपनि प्रधानमन्त्रीले बेवास्ता गरेपछि सभामुख मार्फत् जानकारी गराउन आफू बाध्य भएको उल्लेख गरेका हुन् । 

बादशाहको कथा सुनाउँदै भने, ‘सभामुख महोदय एउटा कथा छ । एउटा बादशाह सडकमा नांगै हिँडिरहेको थियो । तर उसको भजनमण्डलीले बादशाहको त साह्रै राम्रो वस्त्र रहेछ भनिरहेको थियो । त्यतिकैमा एउटा सानो बच्चाले आएर बादशाह त नांगै पो रहेछ भनेपछि बल्ल उनले थाहा पाए । ती बादशाहले त्यतिबेला थाहा पाए तर यी बादशाहले हजारौं युवाले नांगै रहेको बताउँदा पनि थाहा पाउनुभएको छैन । हाम्रो सरकारका जननीलाई यो संसदको अभिभावक सभामुखज्यूले नै बादशाहलाई नांगै भुतुंगै भइसक्नुभयो भनेर भनिदिनुपर्यो ।’

किरातीले सरकारलाई हनिमुन पिरियडबाट बाहिर निस्कन पनि आग्रह गरेका छन् । ‘सरकारको कमजोरी औंल्याउने हो भने भन्छन्, लौ न हनिमुन पनि मनाउन दिएन, तर परिस्थिति हेर्दा हनिमनु मनाउने छुट छैन,’ उनले सुनाए ।

टिप्पणीहरू