योगेश भट्टराई बोलेपछि संसदमा हंगामा

सुन्नुहोस्

माओवादी सशस्त्र युद्धलाई एमाले सचिव तथा सांसद योगेश भट्टराईले ‘हिंसा’ भनेपछि संसदमा भनाभन चलेको छ । 

भट्टराईले ‘माओवादी १० वर्षे हिंसा’ भनेपछि एमाले र माओवादी सांसदबीच बादबिबाद भएको हो । आजको प्रतिनिधिसभा बैठकमा डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता विवादबारे बोलेका सांसद भट्टराईले देशमा ‘हिंसा’ नभएको भए ऊर्जा क्षेत्रमा उहिल्यै क्रान्ति हुने दाबी गरेका थिए । 

उनको उक्त अभिव्यक्तिप्रति माओवादी केन्द्रका सांसदहरूले नियमापत्ति गरेर रेकर्डबाट हटाउन माग गरे । तर, सभामुख देवराज घिमिरेले प्रतिपक्षको आवाजलाई बेवास्ता गरिदिनुभयो । त्यसपछि झन् आक्रोशित माओवादी सांसदले उठेर विरोध गरिरहे ।  

त्यसपछि सभामुखबाट बोल्न समय पाएका माओवादी सचिव देवेन्द्र पौडेलले यस्ता शब्द प्रयोग गरेर शान्ति प्रक्रिया तलमाथि गर्न नमिल्ने बताए । उनले हिँसा शब्द संसद्को रेकर्डबाट हटाउन माग गरे । उनको मागमा सभामुखले ‘अध्ययन गरेर निर्णय गर्न’ संसद् सचिवालयलाई निर्देशन दिनुभयो । 

त्यसपछि बोल्न निरन्तरता पाएका भट्टराईले माओवादीलाई थप उत्तेजित पार्नेगरी सशस्त्र युद्धलाई हिंसा नै हो भने । माओवादी सांसदले निरन्तर विरोध गरिरहे । त्यसबीच सत्ता र प्रतिपक्षका सांसद एकसाथ उठेपछि सभामुख घिमिरेले रघुजी पन्तलाई बोल्न दिनुभयो । 

पन्तले पनि जनयुद्धमा मान्छे मारिएकाले त्यो हिंसा नै भएको बताएपछि पुनः माओवादी सांसदहरू उठेर बोल्न समय मागे । त्यसपछि सभामुख घिमिरेले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिनुभयो ।

उनले भने, ‘यहाँ न त दिएको समयको पालना गरिएको छ । न भाषा त्यस्तो प्रयोग गरिएको छ । त्यसैले यहाँ प्रयोग भएको भाषा हाम्रो संविधानअनुसार प्रयोग भएको छैन । त्यसैले हिंसा शब्द रेकर्डबाट हटाउन अनुरोध गर्छु ।’

टिप्पणीहरू