देउडा नाच्नुअघि परराष्ट्र मन्त्रीको गाडी साटियो

देउडा नाच्नुअघि परराष्ट्र मन्त्रीको गाडी साटियो
सुन्नुहोस्

परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेस नेतृ डा. आरजू राणा देउवाले धनगढीस्थित निवासमा गौरा पर्व मनाउनुभएको छ । उहाँ आज बिहान बुद्ध एअरको उडानमा काठमाडौंबाट छ जनाको टोलीसहित त्यता गएर दिउँसोदेखि धुमधामका साथ देउडा नाचमा सहभागी हुनुभएको छ । 

धनगढी विमानस्थलबाट बाहिर निस्केपछि निवाससम्म जान ठिक्क पारिएका सरकारी गाडीहरुमध्ये एउटाको पछाडि सिटमा उहाँ बस्नुभयो । तर, सुरक्षाकर्मी र सहयोगीहरुले उहाँलाई उक्त गाडीबाट ओर्लन आग्रह गरे । 

लगत्तै मन्त्री राणा पछाडि रहेको अर्को सवारी साधन चढेर धनगढी निवास जानुभएको हो । मन्त्री एउटा गाडीबाट ओर्लेर अर्कोमा चढ्नुपर्ने अवस्था माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण उत्पन्न भएको बुझिएको छ ।

एउटै उडानमा उहाँहरु बिहान काठमाडौंबाट धनगढी जानुभएको थियो । धनगढी विमानस्थलबाट सबैभन्दा पहिले मन्त्री निस्केर पूर्व प्रधानमन्त्रीलाई ठिक्क पारिएको गाडीमा चढेपछि मात्रै नजिकै रहेकाहरुले थाहा पाएको सुरक्षा स्रोतले बताएको छ ।

माओवादी अध्यक्ष पार्टीका झण्डै डेढ दर्जन नेतासहित प्रशिक्षण कार्यक्रमा सहभागी हुन बिहान त्यता जानुभएको हो । उहाँहरुलाई धनगढीस्थित नेपाल राष्ट्र बैंकको गेष्टहाउसमा बस्ने प्रबन्ध मिलाइएको छ ।

टिप्पणीहरू