भाञ्जा चोख्याउन एमाले नेतृत्वको प्रयोग !

भाञ्जा चोख्याउन एमाले नेतृत्वको प्रयोग !
सुन्नुहोस्

नेपाल संस्कृत विश्वविद्यालयको प्रगतिमा बाधक बन्दै आएको आरोप खेपेका ‘रजिष्ट्रार भाञ्जा’ लाई जोगाउन एमाले महासचिवले नयाँ रणनीति अपनाउनुभएको चर्चा चलाइएको छ । कात्तिक १३ गते कार्यकाल सकाएर घर जान लागेका कुलसचिव माधव अधिकारीलाई पुनः चार वर्षे कार्यकालमा नियुक्ति थमाउन सबै पक्षको दौडधुपले संकेत गरेको भनिएको छ ।

कुलसचिव अधिकारीलाई उपकुलपति पदबाट हालै राजीनामा दिएका प्रा.डा. यादवप्रकाश लामिछानेले कारबाही गरेका थिए । त्यसैले अयोग्यताको भारी बोकेर विश्वविद्यालयबाट बिदा हुनुपर्ने भएपछि भाञ्जाको छविलाई जोगाउन महासचिव मैदानमा खटिएको अर्काथरीको बुझाई छ । 

एमाले निकट एकजना प्राध्यापकका अनुसार तीन महिने उपकुलपतिमार्फत् कुलसचिव अधिकारीलाई थप शक्तिशाली बनाउने प्रपञ्च रच्न लागिएको हो । यसअघि आर्थिक गतिविधिमा मुछिएका भाञ्जा अधिकारीले आफूलाई चोख्याउन महासचिव पोखरेललाई प्रयोग गर्न खोज्नु अनौठो नभएको उनी बताउँछन् । सहकुलपति अर्थात् शिक्षामन्त्री विद्या भट्टराईले तीन महिने उपकुलपतिका लागि कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नाम सिफारिस गरिसक्नुभएको छ ।

अब प्रधानमन्त्रीले तीन महिने उपकुलपति नियुक्त गर्नुहुने छ । एमाले नेतृत्वको पछिल्लो व्यवहारप्रति एमाले प्राध्यापकहरू नै सन्तुष्ट नरहेको सन्देश बाहिरिएको छ । शिक्षामन्त्रीले पूर्ण कार्यकालका नयाँ उपकुलपति वा हालका शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडालाई तीन महिनाका लागि निमित्त उपकुलपति बनाउनुपर्ने बेलामा, नचाहिँदो चलखेलमा लागेको भन्दै असन्तुष्टि पोखेका हुन् । 

संस्कृत विश्वविद्यालयको तीन महिने उपकुलपतिका लागि सहकुलपतिले कुलपतिलाई सिफारिस गरेका नामप्रति अनेकौँ आशंका उत्पन्न गरिएको छ । सूचीको पहिलो नम्बरमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व रेक्टर प्रा. रमेश ढकाल परेका छन् । उनी पाल्पाली भएपनि महासचिव निकट मान्छिन् । 

त्यस्तै, दोस्रो नम्बरमा सिफारिस भएका प्रा.डा. भागवत शर्मा हुन् । उनी नाताले महासचिवका ज्वाइँ पर्छन् । दैलेखका शर्मा अहिले तुलसीपुर १८ मा बसोबास गर्छन् । 

तेस्रो स्थानमा प्रा.डा.केशव सुवेदी छन् । उनी पनि महासचिवका शंकरका आफन्त पर्ने उल्लेख गर्दै स्रोत भन्छ, ‘नियमानुसार तीन जनाको नामा सिफारिस भएपनि ज्वाइँ नाता पर्ने शर्मालाई बलियो दाबेदारका रुपमा हेरिएको छ । यसको चुरो चाँही महासचिवकै भाञ्जा कुलसचिव अधिकारी हुन् ।’
 

टिप्पणीहरू