मधेसी कर्मचारी तीन महिनामै तितरबितर

मधेसी कर्मचारी तीन महिनामै तितरबितर
सुन्नुहोस्

मन्त्री फेरिएपिच्छे कर्मचारी चलाउने प्रवृत्तिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई कहिल्यै छोडेन । नेकपा एमालेको सचिवसमेत रहेका तत्कालीन उपप्रधान तथा विभागीयमन्त्री रघुवीर महासेठको पालामा फेरिएका सचिव तथा डिभिजन इञ्जिनियरको सेट नयाँ मन्त्री आउनेबित्तिकै पुनः हेरफेर भएको छ । 

तीन महिना नबित्दै सोही पार्टीका पोलिटब्यूरो देवेन्द्र दाहालले महासेठको निर्णयलाई रद्दीको टोकरीमा फालिदिएका छन् । हालै ६३ जना सुपरिन्टेण्डेण्ट इञ्जिनियरदेखि डिभिजन इञ्जिनियरसम्मको सरुवा गरिएको छ ।  

अढाइ महिना अगाडि मात्रै रघुवीर महासेठले संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय बबरमहलमा पठाइएका सुपरिन्टेण्डेण्ट इञ्जिनियर ज्ञानेन्द्र झालाई नयाँ मन्रीको टिमले नागढुंगा सुरुङमार्गमा पठाइदिएका छन्। यस्तै चन्द्रनिगाहपुर संघीय सडक डिभिजनबाट पूर्वको पाँचथर फिदिममा  डिभिजन इञ्जिनियर दिपेन्द्र पाण्डेलाई एक वर्ष नपुग्दै हटाइएको छ । दुई महिना अघि मात्रै सुर्खेत सरुवा  भएका नरेन्द्र भट्टलाई नेपालगन्जमा पुर्याइएको छ । यसैबीच ६३  जना जनशक्ति यताबाट उता सार्दा २७ जना जति जनशक्ति तीन महिनाभन्दा कम समयमै सरुवाको मारमा परेका छन् । राजनीतिक दबाबमा  उक्त सरुवा गरिएको स्रोत बताउँछ ।

बदनाम कहलिएका सुमन योगेशलाई कान्तिलोक पथ आयोजनाबाट सडक डिभिजन भक्तपुर लगिएको छ । आयोजना प्रमुख तथा डिभिजन प्रमुखहरुको सरुवा गर्नु कुपोण्डल स्थित म्याक्सिम बैकंटमा सरुवाको सूची तयार पारिएको एक पीडितले जनआस्थासँग बताए ।

सरुवाको आलोचना भएपछि महासेठले विगतमा मौका नपाएकालाई अवसर दिएको तर्क गरेका थिए । उनको कार्यकालमा मौका पाएका भनिएका मधेशी मूलका केही कर्मचारी यसपटक फालिएका छन् । उता,६३ जनाको सरुवामा ६ महिना पनि नबितेका अधिकांश परेका छन् । 

त्यसमध्ये २७ जना तीन महिनाभन्दा कम अवधिमै एक ठाउँबाट अर्को ठाउँमा हुत्याइएका हुन् । सरुवा भएको मितिले दुई वर्षसम्म सोही कार्यालयमा सेवारत रहनुपर्ने व्यवस्था निजामती ऐनमा छ ।

विगतको सरुवा उल्टाउँदा आफूहरुमाथि अन्याय भएको उनीहरुको गुनासो छ । यसरी जथाभावी प्रतिशोध राखेर सरुवा गर्दा चालु आयोजनाहरु अलपत्र पर्ने अवस्था सिर्जना भएको छ । त्यसैगरी,लागत पनि बढ्ने देखिएको छ । कार्य सम्पादनमा राम्रो रेकर्ड नभएका कर्मचारीहरुलाई महत्वपूर्ण आयोजनामा पठाइएको छ । जबकि राम्रो नतिजा दिन सक्ने,काम गर्न सक्ने प्राविधिक इञ्जिनियरहरुलाई मन्त्रालयले स्थिर र टिकाउ राख्नुपर्ने थियो । 

केही वर्षदेखि मन्त्री फेरिएसँगै कर्मचारीले त्यसको परिणाम भोग्नुपर्ने स्थिति छ । एक जना डिभिजन इञ्जिनियरले गुनासो पोख्दै भने,‘अहिले यो मन्त्रालयमा कर्मचारीको सरुवा राजनीतिक नियुक्तिजस्तै भएको छ । जतिबेला मन्त्री चेञ्ज भयो,त्यतिबेला कर्मचारी चेञ्ज गर्ने परिपाटी छ ।’ मन्त्रालयका सचिव केशव शर्मा, कर्मचारी संगठनका तर्फबाट डि.ई.विनोद भट्टराईलगायतको टिमले गरेको सरुवा न्यायसंगत नभएको कतिपयको गुनासो छ । 

यसविषयमा जनआस्थाले सचिव शर्मासँग प्रश्न गर्दा उनले भने,‘अघिल्लोपटक पनि त्यस्तै भएको थियो । एकाधलाई त्यसो भएको हुनसक्छ । केही प्राविधिक कारणले करेक्सन गर्नुपरेको छ । संघ,संगठनका प्रतिनिधिहरुले भेटघाटको क्रममा राम्रै गरेको बताउँदै आएका छन् । कामकाज हेर्नेगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय लिनेगरी काम गरिरहेका छौं । हामीले विगतमा ती कर्मचारीको काम हेरेर सरुवा गरेका हौं ।’

हालका सचिव शर्मालाई तत्कालीन मन्त्री महासेठले भौतिक पूर्वाधारको सचिवबाट अन्तै पठाएर गोपाल सिग्देललाई ल्याएका थिए । दाहालले आउनेबित्तिकै सिग्देललाई हटाएर शर्मालाई पुनः सचिवमा ल्याएका छन् । शर्माले महासेठले पोस्टिङ गरेका सुपरिन्टेण्डेन्ट इन्जिनियर,डिभिजन इन्जिनियरलगायतलाई फेरेका छन् । 

तत्कालीन मन्त्री महासेठसँग यसविषयमा प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।
 

टिप्पणीहरू