अनफलो अभियानपछि एकाएक देखियो गायब स्ट्याट्स

अनफलो अभियानपछि एकाएक देखियो गायब स्ट्याट्स

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को स्ट्याट्स पुनः फेसबुकमा देखिएको छ । तीन दिनअघि गायब भएको पोष्ट पुनः आज सामाजिक सञ्जालमा देखिएको छ । मेयर साहले चार दिनअगाडि नेकपा एमालेको लुम्बिनी प्रदेश सभाकी सांसद रेखा शर्मामाथि बाल शोषणको आरोपमा कारबाही हुनुपर्ने जनाउँदै उक्त स्ट्याट्स पोष्ट गरेका थिए । 

‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत आठ वर्षदेखि बन्दी बनाएर एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रुपमा कुटपिट गर्दै आउनुभएको छ । काठमाडौं महानगरले विगत दुई महिनादेखि कारबाही अगाडि बढाउनुभन्दा पनि यो सरकारले समाएको छैन् । अदालतले पनि मुद्दा चलाऊ भनिसकेको छ’,उनले लेखेका छन्,‘सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ, समाउनलाई भन्दछ । सायद, तपाईंका लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँशु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?’

उक्त स्ट्याट्स फेसबुकबाट हटेपछि साहले सरकारमाथि आरोप लगाएका थिए । उनले लगत्तै सामाजिक सञ्जालमा लेखेका थिए, ‘पोष्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ ।’ मेयरको सो स्ट्याट्सपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा अनफलो गर्ने अभियान चलेको छ ।
 

टिप्पणीहरू