‘प्रेम’ र धोकाका विभिन्न प्रसंग

‘प्रेम’ र धोकाका विभिन्न प्रसंग

रवि लामिछाने र बालेन साहबीच पुस १३ गते आइतबार बिहान र कुलमान घिसिङसँग १४ गते सोमबार बेलुका भएको शक्ति बाँडफाँटको उधारो सहमतिले राष्ट्रिय राजनीति गर्माएको छ । सहमतिअनुसार पार्टी सभापतिमा रवि र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्री बालेन र कुलमान आलोपालो हुनेछन् । 

प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस र एमालेसहित पुराना पार्टीलाई चुनौती दिन गरिएको यो गठजोडले राष्ट्रिय राजनीतिमा पार्ने प्रभाव देखिँदै जाला । तर, एउटा प्रश्न भने उठेको छ– रविले हाताहाती सभापति पाउँदा बालेन उधारो प्रधानमन्त्रीमा किन सहमत भए ? यसबारे आ–आफ्नै कोणबाट बहस भैरहेका छन् । वैकल्पिक राजनीतिका पक्षधर शक्तिले रवि–बालेनको यो मिलनलाई ‘महान उपलब्धि’ का रूपमा चर्चा गर्दा पुराना पार्टीहरूले भने ‘चियाको कपमा तुफान ल्याउने’ प्रयासका रूपमा अथ्र्याएका छन् । 

सम्झौतामा सात वटा बुँदा लेखिएको भए पनि मूल पक्षचाहिँ तीन जनालाई क्रमशः पार्टी र राज्य सत्तामा व्यवस्थापन गर्न खोज्नु हो । अर्थात् नीति, विचार र सिद्दान्तभन्दा पदीय भागबण्डालाई केन्द्रमा राखेर प्राविधिक एकतामा जोड दिएका तीनै जनाले आ–आफ्नो ओहोदा सुरक्षित गर्न खोजेको प्रष्टै बुझिन्छ । त्यसकारण पनि धेरैको शंकामिश्रित प्रश्न छ– आफ्नो औपचारिक संगठन नभएका बालेन र गत चुनावमै चौथो पार्टीको रूपमा स्थापित रास्वपाबीच आगामी सहकार्य कसरी अगाडि बढ्ला ? नेपाली राजनीतिमा यस्ता कैयन सम्झौता कार्यान्वयनको चरणमा पुगे पनि धोकाधडीमा परिणत भएको नजिर छ । 

पछिल्लो उदाहरण हो– केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको आलोपालो सहमति । अहिले बालेन र रविले जस्तै ०७४ को निर्वाचनअघि ओली र प्रचण्डबीच चुनावी गठवन्धन हुँदै पार्टी एकतासम्मको सहमति भएको थियो । सहमतिअनुसार देशैभर मिलेर चुनाव लडेका एमाले र माओवादीलाई जनताको अभूतपूर्व समर्थन प्राप्त भयो । चुनावलगत्तै त्यही जनमतको जगमा ओली प्रधानमन्त्री बने । तर, आलोपालो प्रधानमन्त्रीको लिखित सहमति कार्यान्वयन नहुँदा साढे २ वर्ष नपुग्दै सरकारमात्र ढलेन पार्टी एकता पनि टुट्यो । जननिर्वाचित संसद् पार्टी असन्तुष्टिको कोपभाजनमा परेर विघटनमा गयो । 

त्यतिबेला ओली र प्रचण्डबीच ‘समानता र समान अवधिका आधारमा आवश्यकता अनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ लिखित सहमति थियो । विष्णु पौडेल र जनार्दन शर्मालाई समेत साक्षी राखेर दुई अध्यक्षले गरेको सहमतिमा अढाई–अढाई वर्ष आलोपालो प्रधानमन्त्री हुने शर्तनामा थियो । तर, जब ओलीले प्रचण्डलाई पद हस्तान्तरण गर्ने समय नजिकिंदै गयो त्यसपछि विवाद शुरु भयो । अन्ततः शक्ति बाँडफाँटलाई केन्द्रमा राखेर गरिएको सम्झौता पानीको फोका सावित भयो । 

०५६ सालमा तत्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा गए । भट्टराईको अनुहार देखाउँदा काँग्रेसले एकल बहुमत पनि ल्यायो । त्यसपछि भट्टराई प्रधानमन्त्री बने । तर, केही महिनामै उनलाई हटाएर गिरिजा आफैँ प्रधानमन्त्री बने । किनभने पार्टीमा सम्पूर्ण पकड गिरिजाकै थियो । नेपाली राजनीतिमा लिखित सहमति÷सम्झौता तोडिएका अरु पनि धेरै उदाहरण छन् । 

घिउ बेचुवा र तरबार बेचुवाको कथाजस्तै रवि, कुलमान र बालेनको सम्झौता पनि वैचारिक–सैद्धान्तिक धरातलमा नभई पद लेनदेनमै केन्द्रित रहेकाले धोकाको यो श्रृंखला नदोहोरिएला भन्न सकिन्न । मानौँ, फागुन २१ को निर्वाचनमा रास्वपाले बहुमत नै ल्यायो भने पनि संसदीय दलको नेता कसलाई बनाउने भन्ने अधिकार पार्टी नेतृत्वसंगै रहन्छ । अहिले जे सम्झौता भए पनि त्यतिबेला रविको रोजाईमा बालेन परेनन् भने दलको नेता चयनमा निर्वाचन हुनसक्छ । अहिले सभापति सुरक्षित गर्नु भनेको आफ्नो शक्ति संस्थागत गर्नु हो, जुन उनले सम्झौतामार्फत गरिसकेका छन् । 

अनेकन मुद्दामा जेलिएका रविले सभापति पद सुरक्षित मात्र गरेका छैनन् वैकल्पिक शक्ति भनिएकाहरूलाई आफूमा केन्द्रित गरेर थप शक्तिशाली पनि भएका छन् । जबकि बालेनको हातमा अहिलेसम्म केही पनि परेको छैन । दुई व्यक्तिले कोठामा गरेको सहमतिले उनी प्रधानमन्त्री हुने कुराको निर्धारण गर्दैन । रवि सम्झौताप्रति इमान्दार भए भने पनि बालेन आफैँले चुनाव जितेनन् वा रास्वपाले सरकारको नेतृत्व गर्ने हैसियत बनाउन सकेन भने प्रधानमन्त्री बन्ने रहर कागजमा सीमित रहन्छ । त्यसबेला मनको लड्डु घ्यूसँग खानुबाहेक अर्को विकल्प हुने छैन । 

सहमति पत्रमा हस्ताक्षर गर्नुअघि तीनै पक्षले एक अर्कालाई गलाउन अन्तिमसम्म गरेको बार्गेनिङले पनि यो गठजोड सहज नहुने कतिपयको अनुमान छ । कुलमान र बालेनमा लोकप्रियताको दम्भ छ भने शहरी भेगमा संगठन बनाएका र यसअघि नै दुईचोटि गृहमन्त्री भैसकेका रवि सत्ताको खेलाडी प्रमाणित भैसकेका छन् । कुलमान र बालेनको तुलनामा मासलाई फेस गर्न सक्ने खुवी पनि उनमा छ । प्रचण्ड र ओली दुबैलाई रिझाएर गृहमन्त्री हात पार्न सफल भएका उनले ऐन–मौकामा बालेनलाई पाखा नलगाउलान् भन्न सकिंदैन । जबकि कोठे छलफलमा रमाउने बालेन सामाजिक सञ्जालबाहिर देखिएका छैनन् । उनले अहिलेसम्म देखाएको शक्ति भनेको सिंहदरबार जलाउन र संसद विघटनमा मात्र हो । 

वैकल्पिक शक्तिलाई एकीकृत गर्ने नाममा प्रधानमन्त्रीमा लुछाचुँडी गरेका यी तीन भाइलाई जोड्नमा भूराजनीतिक फ्याक्टरलाई निर्णायक ठान्नेहरू पनि छन् । व्यक्तिगत स्वभाव र कार्यशैलीका कारण बालेन आफैँ भूराजनीतिक हिसाबले कम प्रभावित मान्छे हो भनिन्छ । तर, उनी नजिक रहेकाहरू अधिकांश पश्चिम र दक्षिण दुबैतिर जोडिएका छन् । उनका सहयोगी कुमार बेन र कुनै बेला दक्षिणी सुराकी भनी चर्चित अमरेशकुमार सिंहबीच नियमित सम्पर्क हुने गरेको बताइन्छ । गत बिहिबार बालेनले उनै बेनको घरमा बसेर राजनीतिक भेटघाट गर्दा अमरेश पनि त्यहाँ देखिएका थिए । अघिल्लो दिनमात्र दिल्लीबाट फर्केका डा. बाबुराम भट्टराई पनि बालेनलाई भेट्न उनले बोलाएकै ठाउँमा पुगेका थिए ।

(जनआस्था साप्ताहिकको पुस १६ गते बुधबारको अंकमा प्रकाशित)   

टिप्पणीहरू