धनराजको ‘डिभोर्स’ माथि सिआईबीको नजर

धनराजको ‘डिभोर्स’ माथि सिआईबीको नजर
सुन्नुहोस्

ललितपुरस्थित मितेरी सहकारीको बचत हिनामिनाबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अनुसन्धान थालेको छ । सत्तारुढ नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङसमेत मुछिएको उक्त प्रकरणमा सिआइबीले उजुरी दर्ता गरेर अनुसन्धान थालेको छ । 

सहकारीका अध्यक्ष कुम्भराज गुरुङले दुई साताअघि सिआईबी र संसदीय छानबिन समितिमा एकैदिन धनराज र उनकी पूर्वपत्नी ज्योती गुरुङविरुद्ध १५ करोड ठगीको उजुरी दिएका थिए । समितिले तत्काल उजुरी दर्ता गरेर छलफलसमेत गरेको थियो । 

सिआईबीले भने कुम्भराजको उजुरी डेढ हप्तापछि मात्र दर्ता गरेको हो । शुरुमा गृहमन्त्री रमेश लेखकको निर्देशनमा सिआईबीले उजुरी दर्ता गर्न नमानेको बताइन्छ । तर, अघिल्लो साता संसदमा समेत यो विषयले प्रवेश पाएसँगै चौतर्फी दबाबमा परेको प्रहरी उजुरी दर्ता गर्न बाध्य भएको बुझिएको छ । 

सिआईबीका प्रवक्ता होविन्द्र बोगटीले अस्ति उजुरी दर्ता गरेर अनुसन्धान थालिएको जानकारी दिए । उनले भने, ‘शुक्रबार दर्ता भयो । त्यही दिनबाट अनुसन्धानको प्रक्रिया अघि बढिसकेको छ ।’

‘कुम्भराजले उजुरी दिएको त दुई हप्ताअघि नै हो, अहिलेसम्म किन दर्ता नभएको ?’ भन्ने जनआस्थाको प्रश्नमा बोगटीले भने, ‘कतिपय प्राविधिक कुराहरु हुन्छन् । उजुरीको सम्बन्धमा पनि बुझ्नुपर्ने हुन्छ । त्यसैले दुई चार दिन ढिलो भएको मात्र हो, अहिले अनुसन्धान भइरहेको छ ।’

कुम्भराजका अनुसार कोभिड महामारी (लकडाउन) सम्म धनराजकी पत्नी ज्योती सहकारीकी महाप्रबन्धक थिइन् । त्यहीबेला उनले सहकारीको १२ करोड ५० लाख हिनामिना गरेको कुभाराजको दावी छ । जसको ब्याज बढेर अहिले करिब १५ करोड पुगेको उनले संसदीय समितिलाई जानकारी गराइसकेका छन् । 

तर धनराजले भदौ २५ गतेको प्रतिनिधि सभामा ज्योतीसँगको सम्बन्धमा दरार आएपछि साढे चार वर्षअघि नै डिभोर्स गरेको बताउँदै आएका छन् । ‘हामीबीचको सम्बन्ध बिगँ्रदै गएपछि २०७६ फागुनमा डिभोर्स गरेका हौँ’, संसदमा उनले भनेका थिए, ‘डिभोर्स गरिसकेपछि पूर्वश्रीमतीको कुरा मलाई थाहा हुने कुरा भएन । बरु १० वर्षको बच्चा हुर्काउँदाको पीडा छ मसँग ।’

सहकारीको ठगीबाट मुक्त हुन धनराजले ‘नक्कली डिभोर्स’ गरेको चर्चा व्याप्त छ । यस सम्बन्धमा विभिन्न कागजातहरु पनि भेटिएको बताइन्छ । धनराजले ०७९ मा सहकारीबाट पुनः ऋण निकाल्दा तीन वर्षअघि डिभोर्स भएकी ज्योतीको हस्ताक्षर रहेको विषय अनुसन्धानको दायरामा तानिने बताइन्छ ।

सहकारीले संसदीय समितिलाई उपलब्ध गराएको कागजात र रसिदमा धनराजले श्रीमतीको ऋण फिर्ता भन्दै पटक–पटक गरी ९१ लाख २५ बुझाएको पनि पाइएको छ ।

टिप्पणीहरू