भारुमा आम्दानी विवरण बुझाउने सांसद नेरुमा मौन

भारुमा आम्दानी विवरण बुझाउने सांसद नेरुमा मौन
सुन्नुहोस्

नेपाली काँग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरीले भारतस्थित वाइवाइ चाउचाउ कम्पनीले सेयर निष्कासन गर्ने जनाएका छन् । उनले आगामी वर्ष २०२५ को सुरुवातदेखि प्रि–आइपिओ फण्ड जारी गर्ने ब्लुम्बर्गसँगको कुराकानीमा बताए ।

त्यसका लागि भारतका विभिन्न नियमनकारी निकायमा सिजी कर्प ग्लोबल,भारतको आर्थिक विवरण बुझाइसकेका छन् । ब्लुम्बर्गका अनुसार भारतीय बजारमा वाइवाइको हिस्सा २८ प्रतिशत पुगेको छ । पछिल्लो समय चौधरीले भारतमा वाइवाइ बेचेर ८ अर्ब भारतीय रुपैयाँ आम्दानी गरेको कागजातमा उल्लेख छ ।

ब्लुमबर्ग टेलिभिजनकी हास्लिन्दा अमिनसँगको हालैको कुराकानीमा उनले त्योबाहेक थप जानकारी दिएका छैनन् । विदेशमा कमाएको सम्पत्ति स्वदेश नल्याई उनले उताको आम्दानी पूर्वी युरोपेली मुलुक र श्रीलंकामा थप लगानी गर्न लागेको पनि समाचारमा जनाइएको छ । 

नेपालको पहिलो र एकमात्र डलर अर्बपति भनिएका चौधरीले विभिन्न मुलुकमा रहेका आफ्नो व्यवसायको खुद आम्दानीबारे नेपाल सरकारलाई हालसम्म जानकारी गराएका छैनन् । विगतमा नबिल बैंकमा गरिएको लगानीबाट प्राप्त लाभांशलाई ढाका हुँदै विदेश पुर्याएका उनले उताको रकम उतै प्रयोग गर्ने गरेका छन् ।

विदेशको हिसाब मिलाउन उनी नियमित रुपमा भारत,श्रीलंका, हङकङ,फिलिपिन्स, सिंगापुर, युएई र अमेरिका जाउआउ गरिरहन्छन् । पछिल्लो पटक असोज १ गते राति सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४१ मा सिंगापुर गएका उनी त्यसअघि दुबईबाट फर्केका थिए ।

सिंगापुर उड्नुअघि सामाजिक सञ्जालमा फट्याईंका साथ नवलपरासीको सुस्तामा आफ्नो पहलमा बिजुली पुर्याइएको स्टाटस लेखेका थिए । माननीयको आवरणमा चौधरीले गफ दिँदै पोष्ट गरेका छन्, ‘हाम्रो निरन्तरको पहल र सरकारको सहयोगमा सुस्ता गाउँपालिका ५ का करिब ३५० घरधुरीमा अब बिजुली बल्ने निश्चित भएको छ । यो हामी सबैको लागि खुशीको कुरा हो । सोमबार शहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विभाग र विद्युत प्राधिकरणबीच सम्झौता सम्पन्न भएको छ......।’

सरकार र प्राधिकरणको कार्ययोजनाबमोजिम सुस्तामा बत्ति बालिएको अवस्थालाई पनि उनले आफ्नै पहल भन्न भ्याएका छन् । चुनावकै बेला आफूले उक्त ठाउँमा बिजुली ल्याउने प्रतिबद्धता जनाएको पनि लेखेका छन् । आफ्नो व्यवसाय र आम्दानीबाट जनताको नाममा कौडी खर्च नगर्ने चौधरीले सरकारी आयोजनालाई समेत आफ्नै पहलमा भएको भन्न भ्याएका छन् । सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल बैंकको रकमलाई उनले चौधरी ग्रुपको नाममा खर्च र प्रचार गर्दै आएका छन् । चौधरी ग्रुपकै आम्दानीबाट भने सुको खर्चेको देखिँदैन ।

टिप्पणीहरू