यात्रुलाई समेत दशैंमा सवारी साधनभित्र मादक पदार्थ सेवनमा रोक

यात्रुलाई समेत दशैंमा सवारी साधनभित्र मादक पदार्थ सेवनमा रोक
सुन्नुहोस्

दशैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउन लागिएको छ । यातायात व्यवस्था विभागले शनिबारदेखि टिकट बुकिङ खुला गर्ने बताएको छ । विभागका अनुसार यातायात व्यवसायीहरुबीच अनलाइन टिकट बुकिङ व्यवस्था मिलाउने सहमति पनि भएको छ । 

विभागका महानिर्देशक राजिव पोखरेलको नेतृत्वमा आज बसेको सरोकारवालाहरुसहितको बैठकले बैठकले यात्रुवाहक सवारीसाधनका लागि घटस्थापनादेखि पूर्णिमासम्म देशभर लागू हुनेगरी रुट परमिट खुला गर्ने निर्णय पनि गरेको छ । 

तर, कुनै सडकको विशेष प्रकृतिका कारण चल्न निषेध आकार–प्रकारका सार्वजनिक सवारीलाई भने बन्देज कायम रहने विभागले जनाएको छ । विभागले अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारीसाधन घटस्थापनादेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय भएको पनि बताएको छ ।

आयातित मालवाहक सवारीको हकमा भन्सार प्रज्ञापनपत्र र निर्यातित मालवाहक सवारीको हकमा नियमअनुसारको राजस्व तिरेको रसिद हेरेर तेस्रो मुलुकका आयात तथा निर्यातजन्य ढुवानीका साधनहरु भन्सार कार्यालय बन्द रहने अवधिबाहेक नारायणघाटदेखि काठमाडौंसम्म सडकखण्डमा निर्वाध सञ्चालन हुनेछन् ।

उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुवाहक सवारीसाधनको सम्बद्ध निकाय तथा संस्थासँगको सहकार्यमा अनुगमन गरिने विभागको भनाइ छ । यात्रु समेतले सवारीमा मादक पदार्थ सेवन गर्न पाउने छैनन् ।

देशभर मापसे र लापसे गर्ने सवारी चालकको स्वास्थ्य अवस्था चेकजाँच गर्ने र मापसे वा लापसे गरेको पाइएमा निजको सट्टामा व्यवसायीले अर्को चालकको व्यवस्था गर्नुपर्नेछ । त्यस्तै, सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा टिकट लिनुपर्ने र टिकट काउन्टरबाट यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने छ । 

सवारी चालकले यात्रुलाई खाना, खाजा खुवाउने स्थानमा भीडभाड नहुने गरी व्यवस्था गर्नुपर्ने र अनाधिकृत काउन्टर, परिचयपत्र, पोशाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतया नियन्त्रण गरिने विभागले बताएको छ । 

लामो दूरीमा यातायात सेवा सञ्चालन गर्ने सवारीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने, १८ वर्ष उमेर पूरा नभएका नाबालकलाई परिचालकको काममा लगाउन नहुने, लामो तथा मध्यम दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधनले आफ्नो तोकिएको पालो (क्यु) मा सञ्चालन गर्नुपर्ने छ । 

क्युमा सञ्चालन नगरी रिजर्भमा जान नपाइने विभागको भनाइ छ । विभागले चाडपर्व अवधिभर अनुगमन कार्यका लागि सरोकारवाला निकाय सम्मिलित अनुगमन टोली गठन गर्ने पनि निर्णय भएको जनाएको छ ।

टिप्पणीहरू