मेयरलाई मध्यराति सिआईबी पुर्याइयो

मेयरलाई मध्यराति सिआईबी पुर्याइयो

बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुर्याइएको छ । बाग्लुङको ईमेज बचत तथा ऋण सहकारी संस्था घोटाला प्रकरणमा पक्राउ परेका उनलाई गएराति १० बजे पुर्याइएको बुझिएको छ । 

नेपालीलाई इन्टरपोल र भारतीय प्रहरीको सहयोगमा नयाँ दिल्लीमा पक्राउ गरेर हिजो एअर इण्डियाको उडान नम्बर एआई ०२११ मा राति काठमाडौं ल्याइएको थियो । राहदानी नम्बर पीए ०५०५३३५ का ५१ वर्षे देवकुमारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, अपराध अनुसन्धान शाखाले राति नै सीआईबीलाई बुझाएको हो । सीआईबीका अनुसार उनीसँगै सोही सहकारी ठगीमा संलग्न ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि पक्राउ गरिएको छ । 

ईमेज सहकारी ठगीमा मेयर नेपालीसहित आठ जना प्रतिवादी फरार थिए । उनीविरुद्ध गत वर्षको जेठ २४ गते जिल्ला अदालत बागलुङबाट पक्राउ पुर्जी जारी भएको हो । 

प्रहरीको अनुरोधमा इन्टरपोलले गत माघ १० गते रेड कर्नर नोटिस जारी गरेको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइएको छ । 

उनीहरुमाथि ईमेज सहकारीको एक अर्ब ३८ करोड ६३ लाख १३ हजार १२५ रुपैयाँ अपचलन गरेको आरोप छ । अहिले सूर्यदर्शन सहकारीका सम्बन्धमा पनि उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू