माओवादीले बाढी पीडितका लागि पैसा उठाउने, प्रवाशबाट पाँच लाख सहयोग

माओवादीले बाढी पीडितका लागि पैसा उठाउने, प्रवाशबाट पाँच लाख सहयोग

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले बाढीपहिरोको क्षतिसम्बन्धी तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्पडेक्स राख्ने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साँझ बसेको पदाधिकारी बैठकले यो निर्णय गरेको हो । मौसम पूर्वानुमानअनुसार सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिएका कारण जनधनको क्षति बढ्न पुगेको माओवादीले निष्कर्ष पनि निकालेको छ । 

बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा रकम जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत पुनर्निर्माणमा खटाउने निर्णयसमेत गरेको छ । त्यस्तै, दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउनेलगायतका निर्णय बैठकले गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

यता, माओवादी केन्द्रको एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ । आज इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र कार्यालय मुख्य सचिव टिबी पाठकले पाँच लाख रुपैयाँको चेक अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरे ।

टिप्पणीहरू