प्रधानमन्त्रीलाई पनि पहिले आफ्नै चिन्ता

प्रधानमन्त्रीलाई पनि पहिले आफ्नै चिन्ता

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयको अवलोकन गर्नुभएको छ । गत बिहीबार रातिदेखि शनिबार दिउँसोसम्म परेको लगातारको वर्षापछिको बाढीले पार्टी कार्यालयमा पुगेको क्षतिको स्थलगत अवलोकन गर्न उहाँ च्यासल पुग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले आज सिंहदबारस्थित संसद सचिवालय परिसरमा एमाले संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गर्नुभएको हो । त्यसअघि सिंहदरबार नजिकैको होटल बसेरामा पार्टी सचिवालयको बैठक बसेको थियो ।

बाग्मतीमा आएको बाढीले पार्टी कार्यालयको भुईं तला पूरै डुबाएको थियो । परिसर अझै पनि हिलाम्मे छ । भुईं तलाका सबै उपकरण, फर्निचर र महत्वपूर्ण सामग्री नष्ट भएको बताइन्छ ।

 

दलको कार्यालयमा पुनः सरसफाइको क्रम शुरु भएको छ । उहाँलाई महासचिव शंकर पोखरेल, केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीलगायतले बाढीले पार्टी मुख्यालयमा पुर्याएको क्षतिबारे जानकारी गराएका हुन् । 

प्रधानमन्त्री संयुक्त राष्ट्र संघको ७९ औं महासभा र अमेरिका भ्रमणपछि हिजो अपरान्ह स्वदेश फर्कनुभएको हो । उहाँ परराष्ट्रमन्त्री डा. आरजू राणासहित २२ जनाको टोलीको नेतृत्व गर्दै असोज ४ गते त्यसतर्फ जानुभएको थियो । 

यता राजधानी काठमाडौं उपत्यकालगायत धेरै जिल्लामा शुक्रबार रातिदेखि शनिबार दिउँसोसम्म बाढीपहिरो र डुबानका कारण २१७ जनाले ज्यान गुमाएका थिए । दुई दर्जनबढी अझै बेपत्ता छन् । दुई सय हाराहारी घाइते छन् भने पाँच हजारभन्दा बढीको उद्धार गरिएको थियो ।

सर्वसाधारणका हजारौं घर, सार्वजनिक विद्यालय, राजमार्ग, जलविद्युत परियोजना धेरै स्थानमा क्षति पुगेको छ । क्षतिको विवरणबारे अझै यकिन गर्न सकिएको छैन । तर, प्रधानमन्त्री ओलीलाई हिजो स्वदेश आइपुगेपछि सबैभन्दा पहिले क्षति भएका अन्य स्थान र पीडितहरुको अवस्था अवलोकनभन्दा आफ्नै पार्टी कार्यालयको स्थलगत निरीक्षण गर्ने हुटहुटी बढेको बताइन्छ ।

टिप्पणीहरू